चर्चित घटनाको वास्तविकता र सञ्चारगृह प्रमुखको दादागिरी यस्तो - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

चर्चित घटनाको वास्तविकता र सञ्चारगृह प्रमुखको दादागिरी यस्तो

सोलुखुम्बु : रेडियोको टावरमा हावाहुरी र चट्याङका कारण पुगेको क्षति बीमा कम्पनी मार्फत भराउने र स्थानीयलाई मुद्दा लगाएरै भएपनि २ लाख ४० हजार रुपैयाँ चम्काएर गोजी भर्ने एफ.एम. प्रमुखको सपना अन्ततः तुहिएको छ । हावाहुरीका कारण ढलेको पत्ताले स्थित रेडियोको टावरको एन्टेना स्थानीयले टुटफुट गरेको भन्दै प्रति एन्टेना ६० हजारको दरले ४ वटाको २ लाख ४० हजार रुपैयाँ असुल गर्ने सोलुखुम्बुको हिमाल एफ.एम.का प्रमुख भानुभक्त निरौलाको योजना विफल भएको हो ।

यसो गर्दा पो रकम फुत्किन्छ कि ? उसो गर्दा पो रकम झरिहाल्छ कि भनेर स्थानीयलाई अनेकन तरिकाले फसाउन खोजेपनि अन्ततः उनको कालो कर्तुत छताछुल्ल भएको छ ।

यसरी फसाउन खोजेका थिए निरौलाले 

नयाँ बर्ष २०७७ सुरु भएको ५ औं दिन थियो । लकडाउनकै बीचमा सोलुदुधकुण्ड नगरपालिका ८ पिरिङदिङका बिमल मगर छिमेकी र केटाकेटी सहित पत्ताले स्थित गौरीटाप मन्दिर घुम्न गएका थिए । गाडीमा ६ घरका केटाकेटी र बुबा आमा गरी करिब १० जनाको टोली थियो । गौरीटाप मन्दिरमा पुगेपछि अलि माथि रहेको पत्ताले डाँडामा किन नजाने त भन्ने सल्लाह भएपछि सबै जना लागे पत्ताले डाँडा तिर ।
टोलीको नेतृत्व गरेर गएका विमल मगर पहिले पनि पटक पटक उक्त डाँडामा पुगेको हुनाले हिमाल एम.एफ.को चौकीदार बस्ने घरसम्म मात्र गए । उनले वरिपरि घुमेर हेरेनन् । विमल भन्छन् ‘त्यहाँ दुई तीन जना भाइहरु काम गरिरहेका थिए । म ती भाइहरुसँग कुराकानी गरेर बसे, अरुले वरिपरि घुमेर फोटो खिचे र तल ओर्लिदा पनि सँगै गएका छिमेकीहरु ओर्लिएपछि मात्र म झरें ।’
डाँडाबाट अलि पछाडि ओर्लिए पनि बिमलले सँगै आएका साथीहरुलाई तलतिर भेटिहाले । बजार ओर्लनु अघि नै उनको फोनको घण्टी बज्यो । फोन थियो, हिमाल एफ.एम.का प्रमुख भानुभक्त निरौलाको । निरौलाले सँगै रहेका केटाकेटीले रेडियोको टावरको एन्टेना भाँचेर लगेको र उक्त एन्टेनाको मूल्य निक्कै महँगो पर्ने बताए ।
यस्तो फोन आएपछि विमल झस्किए । डाँडासम्म समूहमै गएपनि रिपिटर टावर रहेको डाँडा वरिपरि समूहसँगै नघुमेका बिमललाई केटाकेटीहरुले एफ.एम.का सामग्री ल्याएर आएछन् भन्ने कुरा, निरौलाको फोन आएपछि मात्र थाहा भयो

उनले तत्काल सँगै रहेका नानीहरुलाई सोधे, ती केटाकेटीले पनि ती सामान देखाए र आमाबुबाले समेत काम नलाग्ने चीज होला भनेर वास्ता नगरेको र केटाकेटीले घरमै पुर्‍याए रोटी बेल्न वा आगो फुक्न काम लाग्ने रहेछ भनेर गाली नगरेको प्रतिक्रिया दिए ।
त्यसपछि केटाकेटीले अन्जानबश टिपेर ल्याएको स्वीकारेको र तत्काल फिर्ता गर्छु भन्दा समेत टावरको सग्लो चीज भाँचेर लगेको र उक्त सामग्रीको मूल्य प्रति रु. ६० हजारका दरले ४ वटाको २ लाख ४० हजार रुपैयाँ तिर्नुपर्ने भन्दै निरौलाले अड्डी कसेको बिमलले बताए । केटाकेटीले टिपेर ल्याउनु गल्ती भएको र तत्काल फिर्ता गर्छु भन्दा समेत उनले लगिसकेको चीज फिर्ता गर्नु नपर्ने र अटेर गरे पुलिस केस हालिदिन्छु भनेर धम्क्याएको बिमलले बताए ।
फोनमै धम्काएपछि केटाकेटीले टिपेर ल्याएको फलामको टुक्रा तत्काल फिर्ता गरेको उनले बताए । ‘हावाहुरीले भाँचेको चीज केटाकेटीले ल्याईहालेछन्, यस्तो बहुमूल्य हो भन्ने कुरा थाहा भएन, भनेर आधा घण्टामै हामी फिर्ता गर्न गयौं र फर्कियौं’  त्यो दिनको घटना सम्झिदै उनले भने ।
हिमाल एफ.एम.को टावर वैशाख ४ गते विहीबार आएको हावाहुरीले ढलेको थियो । टावर ढल्दा जेनेरेटर, घर र प्रसारण उपकरणमा क्षति पुग्दा करिब २० लाख क्षति भएको हिमाल एफ.एम.ले नै जनाएको थियो ।
रेडियोले नै २० लाख रुपैयाँ क्षतिको दाबी गरिरहँदा टावर ढल्दा केटाकेटीले ल्याएको उक्त सामान बिग्रिएको थियो वा काम लाग्ने खालको थियो भन्ने कुरा जो कोहीले पनि आँकलन गर्न सकिन्छ । अनि सिमेन्टेड टावर ढल्दा भुँइमा बजारिएको उक्त एन्टेना नभाँची सग्लै थियो होला त ? उनको दाबीलाई मात खुवाउने यो नै पर्याप्त आधार हो ।
घरमै आएर धम्की 
हिमाल एम.एफ. प्रमुख निरौलाले आफ्नो सामानको क्षतिपूर्ति भराउन र नभराए पुलिस केस गर्छु भनेर धम्की दिईरहे, सामान बुझाएपछि पत्तालेडाँडा पुगेको टोली त्यो दिन फर्कियो । त्यसपछि निरौला र उनका सहकर्मी शिखरजंग गजरकोटे एक दिन बिमलको घरमै पुगे । उनले त्यहाँ पनि जसरी भएपनि क्षति पुर्‍याएको सामानको रकम तिर्नुपर्ने बताए ।
आफूहरुले उक्त सामानमा केही क्षति नपुर्‍याएको र अन्जानबस केटाकेटीले टिपेर ल्याउँदा यो आरोप लागेको उनले पटक पटक दोहोर्‍याए । तर झन् निरौलाले उक्त सामानको मूल्य बढाउन थाले । बिमल भन्छन् ‘यो सामान एलसी खोलेर इटलीबाट झिकाउनुपर्छ, त्यसो गर्दा प्रत्येक एण्टेनाकै ८० हजार रुपैयाँ पर्छ, हामीले सप्लायर्स मार्फत ल्याउँदा ६० हजार पर्छ, तपाईले खुरुक्क पैसा तिर्नुपर्‍यो, होइन भने सार्वजनिक मुद्दा लगाएर भएपनि असुल गरेरै छाड्छौं भने ।’
तर गजरकोटेले भने १०र२० हजारको मात्र कुरा भए सजिलै हुने थियो, अलि बढी नै राशीको कुरा भएकाले गाह्रो पर्‍यो भनेर निस्केको विमलले सुनाए ।
अरुबाटै असुल गरेर दिन आग्रह 
पैसा तिर्नैपर्ने जिद्दी गर्न थालेपछि विमलले यथार्थ कुरा बताए । ‘हेर्नुहोस् मेरा केटोकेटीले ल्याएको पनि होइन, म त त्यो दिन मेरो अगुवाईमा गएको हुनाले मात्र जवाफदेहिता निर्वाह गरिरहेको छु ।’
जसरी पनि पैसा असुल्ने दाउमा रहेका निरौलाले तत्काल रणनीति परिवर्तन गरिहालें । बिमल उनले भनेको कुरा सम्झिन्छन् । ‘तपाईको केटाकेटीले नल्याएको भए ज जसको केटाकेटीले ल्याएका हुन्, ती अभिभावकबाट संकलन गरेर दिनुहोस् न, भईहाल्छ नि ।’ र पनि उनले छिमेकीलाई त्यसो गर्न नसकिने र क्षति नपु(याएको चीजको रकम कुनै हालतमा तिर्न नसक्ने जवाफ दिएको बताए ।
पैसा असुल्न नपाएपछि दुव्र्यवहार 
घटना भएको एक हप्ता पछि निरौलाको फोन आयो बिमललाई । त्यो दिन उनको रवाफ अझ बेग्लै थियो । २ लाख ४० हजार रुपैयाँ दाबी गर्दै आएका उनले त्यसअघि बिमललाई दाइ नै भनेर सम्बोधन गरिरहेका थिए । तर त्यो दिन पुलिस अधिकारीले जवानलाई निर्देशन दिएजस्तै पारामा उनले भने ‘हेल्लो तपाई आईहाल्नुस् त भाइ, कता हुनुहुन्छ ?’ जवाफमा आफू घरमा रहेको र लकडाउनका कारण गाडी पनि नल्चने हुनाले तत्काल सम्भव नरहेको जानकारी गराएको उनले सुनाए ।
निरौला अझै झोंक्किए, ‘ए भाइ खुरुक्क आउन, यहाँ बसेर कुरा गर्नुप(यो ।, आउँदिन भनेर पाइन्छ ? यहाँ मर्मत सम्भारको काम भईरहेको छ, खुरुक्क आऊ ।’
नगई नहुने भनेपछि डाइभर र आफू सहित ३ जना टावर रहेको डाँडा पत्तालेमा गएको बिमलले बताए । त्यहाँ पनि उनले केटाकेटीले नै उक्त सामग्री भाँचेको अडान लिए । जवाफमा ‘टावर पनि यी केटाकेटीले नै ढालेको हो भन्नुस् न, किन यो सामान मात्र भाँचेर लग्यो भन्नुभयो ?’ भनेर आफू पनि जंगिएको उनले बताए ।
पुलिस राखेर ठाडो कागज गरौं भनेर फकाए 
जसरी हुन्छ, स्थानीयको हातबाट २ लाख ४० हजार चप्काउने र क्षतिको असुल उपर बीमा कम्पनी मार्फत गराउने दाउमा थिए निरौला । उनले रिपिटर टावरमा समेत पुलिस राखेर ठाडो कागज बनाएर विवाद मिलापत्र गरौं, अनि पछि भुक्तानी गर्नुहोला भनेर फकाएको विमलले सुनाए । तर उनले नबिराउनु नडराउनु भन्दै एक पैसा नदिने र बच्चाले लगेको सामान जस्ताको तस्तै फिर्ता गराईसकेकाले एक रुपैयाँ पनि भुक्तानी नदिने बताएका थिए ।
फोनको अन्तिम धम्की : अब म कानुनी प्रक्रियामा जान्छु 
प्राकृतिक विपत्तिबाट क्षति पुगेको सामानको पैसा असुल्न पाइन्छ कि भनेर बल्छी दाउ थापिरहेका निरौलाले फोनमा अन्तिम धम्की दिएका छन्, ‘तपाईलाई केही भन्दा पनि भएन, अब म कानुनी प्रक्रियामा जान्छु ।’ उनले फेरि पनि फोन मार्फत रकम भुक्तानी गर्न आग्रह गरेको र तपाई म बाट पैसा फुत्काउन सक्नुहुन्न, यत्ति कुरामा ढुक्क हुनुहोस् भनेपछि कानुनी बाटो पक्रिने भन्दै फोन काटेको बिमलले सुनाए ।
‘त्यसपछि उनको फोन आएको छैन, मलाई मुद्दा हाल्ने कानुनी आधार नै छैन, मैले पैसा तिर्नुपर्ने कुनै कारण नै छैन, हावा हुरीले ढलेको टावरको फलामको टुक्रा केटाकेटीले अन्जानबस टिपेर ल्याएको बिषयलाई लिएर मुद्दा दिए देओस्, सामना गरौंला भनेर बसें ।’ ‘टावर ढलेको थिएन, अनि त्यो सामग्री हरायो र हाम्रो घरमा भेटिएको भए चाहिं मुद्दा लगाउन पनि सकिन्थ्यो होला ?’ उनले थपे ।
मध्यस्थकर्तालाई हैसियत देखाईदिने जवाफ 
एफ.एम. प्रमुख निरौलाले बारबार पैसा तिर्नैपर्छ भनेर धम्काएपछि बिमललाई के गरौं कसो गरौं भयो । र उनले वडा अध्यक्ष र यात्रामा सँगै रहेका राप्रपा नेता भीम राईलाई समेत मध्यस्थकर्ताको भूमिका निर्वाह गरिदिन आग्रह गरिदिएका थिए । बिमलकै आग्रह बमोजिम सोलु दुधकुण्ड नगरपालिका ८ का वडाध्यक्ष पासाङ कटवालले समेत निरौलालाई फोन गरेर गल्ती नै नभएको घटनामा नफसाउन आग्रह गरेका थिए । तर निरौलाले उल्टै हैसियत देखाईदिने जवाफ दिएका थिए ।
वैशाख ५ गतेको यात्रामा सँगै रहेका भीम राईले समेत फोन गरेर उक्त घटनामा कोही कसैको पनि गल्ती नभएको र गल्ती नै भएको भए केटाकेटीले उक्त फलामको टुक्रा टिप्न मात्र गल्ती गरेको भनेर सम्झाए । तर निरौलाले यो तपाईको बिषय नै होइन भने, राईले आफू सँग मोबाइलमा खिचेको फोटोहरु समेत सप्रमाण रहेको कुरा गर्दा समेत यो तपाईको सरोकारको बिषय नै होइन भनेर जवाफ दिएका थिए ।
निरौला, बेला बेलामा विवादमा तानिरहने व्यक्ति हुन् । उनी नेपाली काँग्रेस निकट प्रेस युनियनमा आवद्ध रही पत्रकारिता गर्छन् । उनी विरुद्ध सोलु दुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले करिब एक बर्ष पहिले सूचना प्रविधि विभागमा मुद्दा नै दायर गरेकी थिइन् । यस्तै उनले प्रसारण गरेको समाचारको बिषयलाई लिएर काँगे्रसकै एक जना युवा नेताले जिल्ला प्रशासन कार्यालय अगाडि नै उनको कठालो समातेका थिए । उनी आफू र आफू निकट दललाई फाइदा पुग्ने कुरामा सत्यलाई अतिरञ्जित गरी दुनियाँलाई भ्रममा राख्न खोज्छन् ।
हावाहुरीका कारण ढलेको टावरमा स्थानीयलाई फसाएर मोटो रकम हात पार्ने सपना बुनेका निरौला उक्त सपना तुहिएपछि मुर्मुरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *