कविता - थुक्क मेरो जिन्दगी - ✍️एन बी अन्जान

Jantedhunga

थुक्क मेरो जिन्दगी,

सपना देख्न सिकायो

तर पुरा गर्न कहिल्यै साथ दिएन।

हाँसो उधारो भयो,

दुःख आफ्नै नाममा दर्ता भयो

आशा भने सधैं भोलि भन्दै

टारिरह्यो जिन्दगीले।

सहरभरि उज्यालो छ 

आँखा दुईटा खुला छन्,

तर दृश्यहरू अन्धा छन्,

आफ्नै छायाँले पनि

सोध्छ—“कति थाकिस्?”

—"कति सहनसक्छ्स् ?"

म मुस्कुराउँछु,

किनकि 

पीडामा पनि मुस्कुराउँन

सिकाइसकेको छ चोटहरुले।

मान्छेहरू आए,

आफ्नो दुनो सोझ्याए गए,

म भने उही ठाउँमा

आफ्नै सपना कुर्दै बसिरहेँ।

थुक्क मेरो जिन्दगी,

माटोले नचिनेको बीउ,

आकाशले नहेरेको रूख,

र समयले

बारम्बार कुल्चिएको भाग्य ।

हार्न नदिने अडान त दियो

तर, जित्न नसक्ने बाध्यता पनि 

त्यसैले हारिरह्यो जिन्दगी ।

तैपनि…

यो थाकेको मनले

अझै एउटा सानो उज्यालो खोजिरहेछ,

सायद यही हो

जिन्दगीले मलाई दिएको

सबैभन्दा ठूलो सजाय 

बुद्धपदेश ।


साभार : एन बी अन्जान को फेसबुक बाट 

Jantedhunga
प्रतिक्रिया