कैलालीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

Jantedhunga

धनगढी । कैलालीमा सोमबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

घोडाघोडी नगरपालिका–१ डोडापुल नजिक पूर्वपश्चिम राजमार्गमा गोरुगाडामा मोटरसाइकल ठोक्किँदा धनगढी उपमहानगरपालिका–१७ का २९ वर्षीय विक्रम रानाको मृत्यु भएको हो।

प्रहरीका अनुसार राति करिब साढे ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ८८ प ५१५६ नम्बरको मोटरसाइकल घोडाघोडी नगरपालिका–५ देउकलियाका १६/१७ वर्षीय अम्मरसिंह ऐरले चलाएको गोरुगाडाको पछाडि ठोक्किएको थियो।

दुर्घटनामा घाइते भएका रानालाई सुखडस्थित सीएस अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, टीकापुर नगरपालिका–४ मौरनियामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

से ४ प ६५७९ नम्बरको मोटरसाइकलले ५३ वर्षीय लक्षीराम थारूलाई ठक्कर दिएको थियो। दुर्घटनामा थारूको मृत्यु भएको छ भने मोटरसाइकल चालक टीकापुर नगरपालिका–४ थानापुरका १९ वर्षीय आयुष चौधरीको टाउकोमा चोट लागेको छ।

दुवै दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Jantedhunga
प्रतिक्रिया