दिप्रुङ चुइचुम्माको देवी आ.बि. खमारेमा स्व. बाबुराम सिग्देल स्मृति अक्षय कोष स्थापना।

Jantedhunga

दिप्रुङ चुइचुम्मा। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं.१ याम्खा स्थित श्री देवी आधारभूत विद्यालय खमारेमा स्व. बाबुराम सिग्देलको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ।

काठमाडौंको शंखमुल निवासी स्वर्गीय सिग्देलकी आमा राधादेवी, श्रीमती पुजा तथा छोराहरु सुभाष, सन्तोष र सुमन सिग्देलले मृतक सिग्देलको समृतिमा अक्षय कोष स्थापना गरेका हुन् ।

विद्यालयमा आईतबार आयोजित एक कार्यक्रममा सिग्देलको परिवारले अक्षय कोषमा नगद एकलाख ५१ हजार एकसय ५१ रुपैयाँ जम्मा गराएका छन् ।

अक्षय कोषको ब्याजबाट प्राप्त रकमले प्रत्येक वर्ष बिध्यालयका दुई जना जेहेन्दार तथा विपन्न छात्र–छात्रालाई छात्रवृति प्रदान गर्ने गरि स्मृति अक्षय कोष स्थापना भएको स्थानीय युवा समाजसेवी सोमराज राईले जानकारी दिए । 

विद्यालय व्यवस्थापन समितिसँगसमेत आवद्ध रहेका स्व. बावुराम सिग्देलसहित परिवारका अन्य सदस्यले समेत सोही विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए ।

सो अवसरमा बोल्दै अक्षय कोषका संस्थापक एवम् स्वर्गीय बावुराम सिग्देलका सुपुत्र सुभाष सिग्देलले शिक्षा समाज विकासको मूल आधार भएको उल्लेख गर्दै सानो सहयोगले पनि विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत शैक्षिक क्षेत्रको विकास र गुणस्तर अभिवृद्धिका लागि आफ्नो परिवारले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गरे।

सोही अवसरमा सिग्देलका भाई रमेश सिग्देलले विद्यालयमा एकलाख पाँच रुपैयाँको ‘डिल्लीप्रसाद–जोगमाया सिग्देल स्मृति अक्षयकोष’ समेत स्थापना गरि दिएका छन् ।

साे रकमबाट पनि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाईएको छ । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूको उपस्थिति थियो ।







Jantedhunga
प्रतिक्रिया