विराटनगर । सुनसरी र उदयपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित हरिनगरा–बसन्तपुर भित्री सडकखण्डमा सोमबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार साँझ करिब ६ः३५ बजे दक्षिण बसन्तपुरबाट उत्तर हरिनगरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ५० एसी ०७५५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको को १३ प १८२० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा भारतीय मोटरसाइकलका चालक हरिनगर गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय सञ्जय मण्डल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइएकोमा साँझ ७ः२५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अर्को मोटरसाइकलका चालक भोक्राहा–नरसिंह गाउँपालिका–५ का अन्दाजी ४० वर्षीय कलामुद्विन अन्सारी र पछाडि सवार अन्दाजी ४५ वर्षीय जलामुद्विन अन्सारी गम्भीर घाइते भएका छन् । दुवैको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उदयपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा चालकको मृत्यु
यसैगरी, उदयपुरको कटारी नगरपालिका–४ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ बजे काठमाडौंबाट झापातर्फ जाँदै गरेको मे ८ प ४८९८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक इलामको माई नगरपालिका–७ का अन्दाजी ४० वर्षीय मनीराज मगर गम्भीर घाइते भएका थिए । उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइकल यात्री कटारी नगरपालिका–४ का अन्दाजी ४७ वर्षीय तिलककुमार दनुवार घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा साइकलले अचानक सडक पार गर्दा दुर्घटना भएको खुलेको छ । दुवै सवारीसाधन नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो