नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा, शक्ति, समृद्धि र दुःखकष्ट निवारण हुने धार्मिक विश्वास

Jantedhunga

काठमाडौं । बडादसैँको धार्मिक रौनक बढ्दै जाँदा नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो स्वरूप देवी कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गरिँदै छ। दसैँ घर तथा पूजा कोठामा देवीको आह्वान गरी श्रद्धा र भक्तिपूर्वक पूजा गर्ने परम्पराअनुसार देशभरका मन्दिर तथा शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ।

नवरात्रका नौ दिन नौवटा दुर्गाका स्वरूपको पूजा गर्ने धार्मिक मान्यताअनुसार चौथो दिन कुष्माण्डा देवीको आराधना गरिन्छ। धार्मिक विश्वासअनुसार देवी कुष्माण्डालाई सृष्टि, शक्ति र ऊर्जाको प्रतीकका रूपमा लिइन्छ। उहाँको पूजा गर्नाले भक्तजनका दुःखकष्ट हट्ने तथा शक्ति, ऐश्वर्य र ज्ञान प्राप्त हुने विश्वास छ।

दुर्गा सप्तशती अर्थात् चण्डीमा देवीको महिमा वर्णन गरिएको छ। नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गरी विशेष पूजाआराधना गर्ने चलन छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएसँगै नौ दिनसम्म चल्ने विशेष पूजाआराधना सुरु भएको हो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। चौथो दिन कुष्माण्डा देवीको आराधना गरिँदै छ। त्यसपछि क्रमशः स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ।

नवरात्रका अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाईलगायत शक्तिपीठमा भक्तजन दर्शन तथा पूजाआराधनाका लागि पुग्ने गरेका छन्।

त्यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको चहलपहल बढ्ने गरेको छ।

नवरात्रको पूजाआराधनापछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने परम्परा छ। धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक उत्सवको संगमका रूपमा रहेको दसैँसँगै नेपाली समाजमा उत्साह र उल्लास बढ्दै गएको छ।

Jantedhunga
प्रतिक्रिया