कार्यालय ठप्प भएको भन्ने रिपोर्टप्रति अध्यक्षको प्रष्टोक्ति : भ्रममा नपर्न आग्रह !

Jantedhunga

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्षले गाउँपालिकाको सेवा प्रवाह र कर्मचारी तथा जनप्रतिनिधिको उपस्थितिसम्बन्धी सार्वजनिक भएको स्थलगत भिडियो रिपोर्टप्रति प्रष्टोक्ति दिएका छन् । भिडियोबाट गाउँपालिकाको कार्यालय नै ठप्प भएको जस्तो भ्रम सिर्जना भएको बताएका हुन्।

अध्यक्षका अनुसार गाउँपालिकाको कृषि शाखाको वार्षिक कार्यक्रमअन्तर्गत उपाध्यक्ष, केही वडाध्यक्ष तथा सम्बन्धित शाखाका कर्मचारीहरू कृषि अध्ययन तथा अवलोकन भ्रमणमा गएका थिए। तर, सेवाग्राहीको काम प्रभावित नहुने गरी आवश्यक व्यवस्था मिलाएर भ्रमण गरिएको उनको दाबी छ। सिङ्गो गाउँपालिका कार्यालय खाली गरेर भ्रमणमा गएको भन्ने कुरा सत्य नभएको उनले स्पष्ट पारे।


अध्यक्ष स्वयं विराटनगरमा भएको औपचारिक गोष्ठी सम्पन्न गरी गाउँपालिकाकै कामका सिलसिलामा काठमाडौं पुगेको र प्रमुख प्रशासकीय अधिकृत पनि कार्यालयकै आधिकारिक कामका लागि बाहिर रहेको उनले जानकारी दिएका छन्।


उनका अनुसार शुक्रबारसम्म गाउँपालिकाको कार्यालयको काम नियमित रूपमा सञ्चालन भएको थियो। शुक्रबारसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक अहमद मन्सूरी कार्यालयमै रहेको र शनिबार तथा आइतबार सार्वजनिक बिदा परेको समयमा उनका बुबा अचानक बिरामी भएपछि उनी बाहिर जानुपरेको अध्यक्षले बताएका छन्। सोमबारदेखि आफ्नो बुवाको उपचारका लागि बिराटनगर रहे पनि दैनिक प्रशासनिक काम नरोकिने ब्यवस्था मिलाइएको बताए। 


अध्यक्षले भिडियोमा देखाइएका बन्द कोठाहरू गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनका रहेको स्पष्ट पारेका छन्। उक्त भवन अझै औपचारिक रूपमा उद्घाटन भई पूर्णरूपमा सञ्चालनमा नआएको उनको भनाइ छ।

पुरानो भवनमा सेवा प्रवाहमा असहजता भएपछि हाल भौतिक पूर्वाधार शाखा, शिक्षा, युवा तथा खेलकुद शाखा र सूचना प्रविधि शाखाले नयाँ भवनबाट सेवा दिइरहेको तथा अन्य शाखाहरूले पुरानै भवनबाट नियमित सेवा प्रवाह गरिरहेको अध्यक्षले बताएका छन्।

त्यसै समयमा गाउँपालिकाको सभाहलमा राष्ट्रिय रोजगार कार्यक्रमसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेकाले केही कर्मचारीहरू उक्त कार्यक्रममै व्यस्त रहेको उनको भनाइ छ।

नयाँ भवनका तीनवटा शाखालाई मात्र केन्द्रित गरेर स्थलगत रिपोर्ट तयार हुँदा पुरानो भवन र सभाहलमा भइरहेको गतिविधि नदेखिएको तथा नयाँ भवनका केही बन्द कोठाका दृश्यले सिङ्गो कार्यालय नै बन्द रहेको जस्तो देखिन गएको अध्यक्षले बताएका छन्।

अध्यक्षले दिप्रुङ चुइचुम्मा गाउँपालिका नागरिकको सेवा, विकास र सुशासनप्रति संवेदनशील तथा जिम्मेवार रहेको दाबी गर्दै नागरिकको समय र अधिकारको सम्मान गर्दै आएको बताएका छन्।

सञ्चारमाध्यमबाट हुने रचनात्मक खबरदारीलाई सकारात्मक रूपमा लिने बताउँदै अध्यक्षले सार्वजनिक भिडियोबाट सिर्जना भएको भ्रममा नपर्न गाउँपालिकावासीलाई आग्रह गरेका छन्।

उनले नागरिक सरोकारका विषयमा चासो र खबरदारी गर्ने रुपाकोट खबर, मदानी खबरलगायत सञ्चारमाध्यम, सञ्चारकर्मी तथा शुभेच्छुकहरूलाई धन्यवादसमेत व्यक्त गरेका छन्।

Jantedhunga
प्रतिक्रिया