छठ पर्वको मुख्य दिन आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै

Jantedhunga

विराटनगर । सूर्यदेवप्रति आस्था प्रकट गर्दै मनाइने छठ पर्वको मुख्य दिन आज आइतबार देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ । विशेषगरी तराई–मधेश क्षेत्रमा उल्लासपूर्ण रूपमा मनाइने यस पर्वमा आज व्रतालुले नदी, पोखरी तथा अन्य जलाशयका किनारमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दैछन् ।

चार दिनसम्म विभिन्न धार्मिक विधि र अनुशासनका साथ मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीबाट सुरु भएको हो । पहिलो दिन नहाय–खाय विधि गरेका व्रतालुले दोस्रो दिन खरना सम्पन्न गरेका थिए । खरनाका दिन दिनभर उपवास बसेर साँझ दूध, चामल र सक्खरबाट बनाइएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । त्यसपछि सुरु हुने निर्जला व्रत आज अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पनि निरन्तर रहनेछ ।

छठ पूजाका लागि व्रतालु तथा परिवारका सदस्यले बाँसबाट निर्मित ढाकी र नाङ्लोमा ठेकुवा, भुसुवा, विभिन्न फलफूल, उखु, नरिवललगायत पूजा सामग्री सजाएर घाटसम्म पुर्‍याउने गर्छन् । घाटमा परिवारजन र आफन्तको उपस्थितिमा सूर्यदेव तथा छठी माताको विधिपूर्वक पूजा गरिन्छ । यस अवसरमा परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु र सबैको सुस्वास्थ्यको कामना गर्ने धार्मिक विश्वास रहिआएको छ ।

पर्वको अन्तिम तथा महत्त्वपूर्ण विधि सोमबार बिहान सम्पन्न हुनेछ । बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि व्रतालुले पारण गरी आफ्नो व्रत समाप्त गर्नेछन् । सरकारले यस अवसरमा सोमबारसमेत सार्वजनिक बिदा दिएको छ ।                                                                             पहिले तराई–मधेशको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छठ पछिल्लो समय काठमाडौं उपत्यकादेखि पहाडी र हिमाली भेगसम्म फैलिँदै गएको छ । जलाशयका किनारमा आकर्षक घाट निर्माण गरी सामूहिक रूपमा मनाइने यस पर्वले धार्मिक विश्वाससँगै पारिवारिक आत्मीयता, सामाजिक एकता र आपसी सद्भावलाई समेत बलियो बनाउँदै आएको छ ।

Jantedhunga
प्रतिक्रिया