दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगरले सडक पुर्वाधार र शिक्षा, सामाजिक सुरक्षा, स्वास्थ्य लगायतको क्षेत्रहरुलाई प्राथमिकतामा राख्दै चालु आर्थिक मन्दी र महँगीलाई सम्बोधन गर्ने गरी रु. ५२ करोड २४ लाख ६४ हजार ६ सय को कुल बजेट प्रस्तुत गर्नुभएको हो।
विपन्न परिवारलाई मासिक जीवन निर्वाह भत्ता
बजेटको सबैभन्दा आकर्षण र जनपक्षीय कार्यक्रमका रूपमा "विपन्न नागरिक जीवन निर्वाह भत्ता" ल्याइएको छ। वर्तमान आर्थिक सुस्तता र महँगीको मारमा परेका रोजगारी र नियमित आर्थिक स्रोत नएका विपन्न नागरिकहरूलाई राहत दिन गाउँपालिकाले रु. २ करोड ५० लाख रुपैयाँ एकमुष्ठ विनियोजन गरेको छ। यस कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका त्यस्ता अति विपन्न र न्यून आय भएका लक्षित परिवारहरूले मासिक भत्ता पाउनेछन्, जसको घरमा कोही पनि सरकारी जागिरे छैनन्, कसैले पेन्सन पाउँदैनन् र परिवारको कुनै सदस्य वैदेशिक रोजगारमा समेत गएका छैनन्। यो कार्यक्रमले श्रमजीवी र आर्थिक रूपमा पछाडि परेका नागरिकको न्यूनतम खाद्यान्न र सामाजिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
शिक्षक, कर्मचारी र स्वयंसेविकाको भत्तामा आकर्षक वृद्धि
गाउँपालिकाले आगामी २०८३ साउन १ गतेदेखि लागू हुने गरी राष्ट्रसेवक करार कर्मचारी, विद्यालयका लेखा र कार्यलय सहयोगी, बालविकास सहजकर्ता (ईसीडी शिक्षक) तथा आन्तरिक स्रोतबाट नियुक्त स्वयंसेवक र कम्प्युटर शिक्षकहरूको सुरु तलबमानमा १० प्रतिशत तलब वृद्धि गरेको छ। यसका साथै विगत लामो समयदेखि समुदायमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाहरूले पाउँदै आएको मासिक भत्ता र खाजा खर्च (रु. १,१५०) लाई परिमार्जन र वृद्धि गरी अब मासिक रु. १,५०० कायम गरिएको छ।
क्षेत्रगत बजेट विनियोजनको अवस्था
भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले रमाइलो-पंचमी बजार-छितापोखरी सडक, भण्डारे खिसाखा सडक र विभिन्न वडागत सडक तथा झोलुङ्गे पुल निर्माणका लागि रु. १० करोड ४५ लाख ८ हजार विनियोजन गरेको छ।
यसैगरी शिक्षा क्षेत्र र विद्यालय पूर्वाधारका लागि रु. ३ करोड ५४ लाख २५ हजार, कृषि, पशुपालन तथा चिस्यान केन्द्र प्रवर्द्धनका लागि रु. १ करोड १३ लाख ४५ हजार, र सन्तुलित विकासका लागि सातै वटा वडालाई एकमुष्ठ रु. २ करोड ५ हजार वडागत सिलिङका रूपमा छुट्याइएको छ। खानेपानी तथा सिँचाईतर्फ रु. ७२ लाख ४० हजार, सामाजिक समावेशीकरण तथा लक्षित वर्ग उत्थानका लागि रु. ६२ लाख २२ हजार, र भाषा, संस्कृति एवं धार्मिक सम्पदा संरक्षणका लागि रु. ५३ लाख १० हजार बजेट विनियोजन गरिएको छ।
जनप्रतिनिधिहरूबीचको आपसी राजनीतिक समन्वय र सहकार्यको नयाँ संस्कृतिले गर्दा सीमित स्रोत र साधनका बाबजुद नागरिकका अपेक्षाहरूलाई अधिकतम सम्बोधन गर्ने गरी बजेट ल्याइएको र यसको सफल कार्यान्वयनमा सबै सरोकारवालाहरूको रचनात्मक सहयोग रहने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो