जनताको पीडा बोकेर सिंहदरबार पुगे हरिकुमार पोखरेल

Jantedhunga

खोटाङ । खोटाङको वामपन्थी राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै जिल्लाको विकास निर्माण, सामाजिक रूपान्तरण र जनसरोकारका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका एमाले नेता हरि कुमार पोखरेल ले प्रधानमन्त्रीको सचिवालयमार्फत खोटाङ जिल्लाका विभिन्न समस्या समाधानका लागि विस्तृत ज्ञापनपत्र बुझाएका छन्।आफूलाई “निस्वार्थ र त्यागी नेता” का रूपमा स्थापित गरेका पोखरेलले जिल्लाको समग्र विकास, जनजीविका, स्वास्थ्य, कृषि, पूर्वाधार तथा जनअधिकारसँग सम्बन्धित विषयलाई समेट्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयमा बुझाइएको ज्ञापनपत्रमा खोटाङका नागरिकले लामो समयदेखि भोग्दै आएका समस्या समाधानमा राज्यको प्रभावकारी उपस्थिति नदेखिएको गुनासो गरिएको छ। ज्ञापनपत्रमा विगतका सरकार तथा सम्बन्धित निकायहरूले आवश्यक चासो र प्रतिबद्धता नदेखाउँदा जिल्लावासीले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरिएको छ। साथै, जनप्रतिनिधिहरूले जनताको आवाज प्रभावकारी रूपमा सरकारसमक्ष पुर्‍याउन नसक्दा जिल्लामा निराशा बढेको र बसाइँसराइ तीव्र बन्दै गएको पोखरेलकोदाबी छ।

ज्ञापनपत्रमा विशेषगरी जंगली जनावरबाट खेतीबालीमा भइरहेको क्षति नियन्त्रणको माग उठाइएको छ। बाँदर, दुम्सी तथा बदेलका कारण किसानहरूले वर्षभरिको अन्नबाली जोगाउन नसकेको उल्लेख गर्दै दीर्घकालीन नियन्त्रण कार्यक्रम र किसान राहत योजना लागू गर्न माग गरिएको छ।

त्यस्तै, बिजुले–ऐंसेलुखर्क सडक कालोपत्रेका लागि विनियोजित ११ करोड रुपैयाँ तत्काल कार्यान्वयन गरी निर्माणलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरिएको छ। लामो समयदेखि चर्चामा रहेको दूधकोशी जलाशययुक्त आयोजनाका कारण रोक्का गरिएको जग्गा समस्यालाई पनि ज्ञापनपत्रमा प्रमुख रूपमा उठाइएको छ। आयोजनाका नाममा स्थानीयवासीको जग्गा पाँचदेखि सात वर्षसम्म रोक्का हुँदा शिक्षा, स्वास्थ्य, विवाह तथा दैनिक आर्थिक गतिविधिमा गम्भीर असर परेको उल्लेख गरिएको छ।

पोखरेलले आयोजनाको काम तत्काल अघि बढाउन नसक्ने हो भने स्थानीयले भोगेको क्षतिको उचित क्षतिपूर्ति दिएर जग्गा फुकुवा गर्नुपर्ने माग गरेका छन्। साथै, आयोजनाको नाममा विभिन्न समिति, गोष्ठी र प्रशासनिक खर्चका शीर्षकमा बजेट दुरुपयोग भइरहेको जनगुनासोप्रति छानबिन गरी सम्पूर्ण आर्थिक गतिविधिलाई पारदर्शी बनाउन पनि पोखरेलले  सरकारसँग माग गरेका छन् ।

ज्ञापनपत्रमा लामीडाँडा विमानस्थल नियमित सञ्चालन गर्न, रावाबेँसी गाउँपालिकामा निर्माणाधीन १० शैयाको अस्पताल शीघ्र सम्पन्न गर्न तथा स्थानीय तहले सञ्चालन गर्नुपर्ने विकास योजनाको प्रभावकारी अनुगमन गर्न समेत आग्रह गरिएको छ।

ज्ञापनपत्रमार्फत पोखरेलले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारप्रति जनतामा आशा र भरोसा जागेको उल्लेख गर्दै जनताको पक्षमा इमानदार ढंगले काम गर्ने सरकारलाई आफूहरूको पूर्ण समर्थन रहने बताएका छन्। उनले जनताको काम नगर्ने प्रतिनिधिहरूमाथि आवश्यक कारबाही गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

ज्ञापनपत्रको अन्त्यमा पोखरेलले आफूले उठाएका विषय गलत सावित भए जेल बस्न तयार रहेको उल्लेख गर्दै जीवनको बाँकी समय देश र जनताको हितका लागि समर्पित गर्ने उद्घोष गरेका छन्। “मान्छे ५०० वर्ष बाँच्दैन, बाँचुन्जेल देश र जनताका लागि काम गर्नुपर्छ,” भन्दै उनले प्रधानमन्त्रीलाई जनताको पक्षमा दृढतापूर्वक काम गर्न आग्रह गरेका छन्।

खोटाङका विकास, पूर्वाधार र जनजीवनसँग जोडिएका विषयलाई एकीकृत रूपमा उठाउँदै प्रधानमन्त्री कार्यालयसम्म पुगेको यो ज्ञापनपत्रलाई जिल्लाको जनसरोकारको आवाजका रूपमा लिइएको छ।

Jantedhunga
प्रतिक्रिया