भोजपुरका एमाले नेता रामसिंह राईको निधन

Jantedhunga

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका अग्रज नेता रामसिंह राईको असामयिक निधन भएको छ। केही समयदेखि गम्भीर स्वास्थ्य समस्याका कारण उपचाररत राईको हिजो निधन भएको हो।

विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय राई अनेरास्ववियुमा आबद्ध हुँदै राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका थिए। पञ्चायती व्यवस्थाको निरङ्कुश शासन अन्त्य गरी बहुदलीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्ने आन्दोलनमा समेत उनले योगदान पुर्‍याएका थिए।

जनताको सुखदुःखमा साथ दिने, जनताका विचार र भावनालाई आत्मसात् गर्ने तथा समाज परिवर्तनका लागि निरन्तर सक्रिय रहने नेताका रूपमा उनी परिचित थिए।

उनका सकारात्मक सोच, राजनीतिक विचार र प्रशिक्षणबाट प्रभावित भएर आफूजस्ता सामान्य नागरिकसमेत राजनीतिमा अघि बढ्न प्रेरित भएको उनीसँग निकट रहेकाहरूले स्मरण गरेका छन्।                                राईको निधनले नेकपा एमाले भोजपुरसहित समग्र राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ। उनको निधनप्रति दुःख व्यक्त गर्दै पार्टीका नेता तथा कार्यकर्ताले उनलाई लोकतान्त्रिक आन्दोलनका एक प्रतिबद्ध र समर्पित सहयात्रीका रूपमा स्मरण गरेका छन्।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ,भोजपुरका संघीय संसद ध्रुव राई लगायत नेताहरूले दिवंगत राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा पार्टीका नेता–कार्यकर्ताप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले लोकतन्त्र स्थापना, राजनीतिक परिवर्तन र समाज रूपान्तरणका लागि पुर्‍याएको योगदान तथा देखाएको मार्ग स्मरणीय छ।

Jantedhunga
प्रतिक्रिया