काहुलेमा सञ्चालित वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

Jantedhunga

 खोटाङ । युवा तथा खेलकुद विकास समिति जन्तेढुंगा–३, काहुलेको आयोजनामा सञ्चालित चौथो संस्करणको वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कार्तिक २० गतेदेखि सुरु भएको प्रतियोगिता चार दिनसम्म सञ्चालन भई सोमबार कार्तिक २३ गते फाइनल खेलसँगै समापन भएको हो।

जन्तेढुंगा गाउँपालिका–३ वडा कार्यालयको २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको वडा अध्यक्ष तारामान राईले जानकारी दिए।

जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा बोल्दै उनले खेलकुद मानिसको जीवनमा गाँस, बास र कपासजस्तै महत्त्वपूर्ण बन्दै गएको बताए। मनोरञ्जनसँगै शारीरिक तथा मानसिक स्वास्थ्य, अनुशासन र आपसी सद्भाव विकासमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले सहभागी सम्पूर्ण खेलाडीलाई शुभकामना व्यक्त गरे।

समापन समारोहमा वडा अध्यक्ष तारामान राई, विदुरमान राईलगायतले पनि शुभकामना मन्तव्य राखेका थिए।

प्रतियोगितामा ३५ वटा टोलीले नाम दर्ता गराए पनि १५ टोलीले मात्र प्रतिस्पर्धामा सहभागिता जनाएको युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विधान राईले जानकारी दिए।

प्रतिस्पर्धात्मक खेलपछि भोजपुरको हतुवागढी गाउँपालिका–होमताङको टोलीले प्रथम स्थान हासिल गर्दै उपाधि जित्न सफल भयो। उदयपुरको चौदण्डीगढी टोली दोस्रो हुँदा खोटाङको जन्तेढुंगा गाउँपालिका–१, देवीस्थानको टोली तेस्रो भएको छ।

विजेता टोलीलाई क्रमशः नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। जसअनुसार प्रथम हुने भोजपुरको हतुवागढी टोलीले ६० हजार रुपैयाँ, दोस्रो हुने उदयपुरको चौदण्डीगढी टोलीले ४० हजार रुपैयाँ र तेस्रो हुने जन्तेढुंगा–१, देवीस्थानको टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगितामार्फत स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, खेलकुदप्रतिको आकर्षण अभिवृद्धि तथा युवाहरूबीच आपसी एकता र भाइचाराको सम्बन्ध मजबुत बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी खेलाडी, सहयोगी संस्था तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्दै युवा तथा खेलकुद विकास समितिका सचिव रिजन राईले आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिने बताएका छन्।

Jantedhunga
प्रतिक्रिया