खोटाङका पुराना वामपन्थी नेता तथा पूर्व गाविस अध्यक्ष देवेन्द्र श्रेष्ठ रहेनन्

Jantedhunga

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका– ५ चिसापानी बजार निवासी समाजसेवी तथा पुराना वामपन्थी नेता देवेन्द्र श्रेष्ठको निधन भएको छ। उनको निधनले चिसापानी क्षेत्रको राजनीतिक तथा सामाजिक क्षेत्रमा शोक छाएको छ।

पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा लामो समय भूमिगत रहेर राजनीतिक संघर्ष गरेका श्रेष्ठ २०५४ सालको स्थानीय निकाय निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट चिसापानी गाविस अध्यक्षमा निर्वाचित भएका थिए। उनले आफ्नो जीवनको लामो समय यस क्षेत्रको विकास, निर्माण र सामाजिक समृद्धिका लागि समर्पित गरेका थिए।

चिसापानी तथा आसपासका क्षेत्रको विकासका लागि सधैँ सपना देख्ने, योजना बनाउने र त्यसलाई व्यवहारमा उतार्न प्रयास गर्ने व्यक्तित्वका रूपमा श्रेष्ठ परिचित थिए। उनी विकासका योजना बनाउने व्यक्तिमा मात्र सीमित थिएनन्, समाज परिवर्तनका लागि निरन्तर क्रियाशील रहने सामाजिक अगुवासमेत थिए।

राजनीतिक संघर्षदेखि स्थानीय विकास र सामाजिक सेवासम्म उनले पुर्‍याएको योगदान स्थानीयवासीका लागि स्मरणीय रहेको छ। विकास र समृद्धिप्रतिको उनको सोच, प्रतिबद्धता र अग्रगामी दृष्टिकोणलाई चिसापानीवासीले सधैँ सम्झिरहनेछन्।

उनको पार्थिव शरीर हाल काठमाडौंस्थित महाराजगञ्जको शिक्षण अस्पतालमा राखिएको छ। छोराबुहारीसहित अन्य आफन्त काठमाडौं आइपुगेपछि सोमबार अपराह्न करिब ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी उनकी छोरी रमिला श्रेष्ठले दिएकी छन्।

श्रेष्ठका तीन छोरा रविन, प्रजिन र सुशील तथा दुई छोरी रमिला र सुजिता रहेका छन्।

उनको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

श्रेष्ठले जीवनभर चिसापानीको विकास र समृद्धिका लागि देखेका सपना, बनाएका योजना र अघि सारेका अग्रगामी सोचहरू सधैँ स्मरणीय रहने स्थानीयको भनाइ छ। उनको निधनले चिसापानीले एक अनुभवी राजनीतिक व्यक्तित्व, विकासप्रेमी अगुवा र समाजसेवी अभिभावक गुमाएको छ।



Jantedhunga
प्रतिक्रिया