आज गोवर्द्धन पूजा : बली, गोरु र हलिको पूजा गरी मनाइँदै

Jantedhunga

 खोटाङ । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज देशभर गोवर्द्धन, बली, गोरु तथा हलिको पूजा गरी गोवर्द्धन पूजा मनाइँदै छ। यस अवसरमा गोरुलाई मीठा परिकार खान दिएर पूजा गर्ने तथा कृषि कर्ममा संलग्न किसान र हलिको सम्मान गर्ने परम्परा छ।

गोवर्द्धन पूजाका दिन घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाइन्छ। त्यसलाई गोवर्द्धन पर्वतको प्रतीक मानेर विधिपूर्वक पूजा गर्ने चलन छ।

धर्मशास्त्रअनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाउनुभएको स्मरणमा गोवर्द्धन पूजा गर्ने परम्परा सुरु भएको हो। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार यही धार्मिक घटनाको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने चलन रहिआएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको छ।

बली, गोरु र हलिको पनि पूजा

गोवर्द्धन पूजाकै दिन बली राजाको पनि पूजा आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिनुभएको विश्वास छ। यही मान्यताका आधारमा तिहारमा देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा बसेको मानिन्छ।

कृषि कर्ममा महत्वपूर्ण योगदान पुर्‍याउने गोरुलाई पनि आज विशेष रूपमा पूजा गरिन्छ। वर्षभरि खेतबारी जोतेर मानव जीवन र कृषि उत्पादनमा सहयोग पुर्‍याउने गोरुलाई मीठा परिकार खुवाएर सम्मान गर्ने चलन छ। गोरुलाई भगवान् महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने धार्मिक परम्परा छ।

त्यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ। कृषि कार्यमा उनीहरूले पुर्‍याएको योगदानको सम्मानस्वरूप मनाइने भएकाले यस दिनलाई हलि तिहारका रूपमा समेत चिनिन्छ।

यसरी गोवर्द्धन पूजाले धार्मिक आस्था, प्रकृति संरक्षण, पशुप्रतिको सम्मान र कृषि संस्कृतिको महत्वलाई उजागर गर्दै आएको छ।

Jantedhunga
प्रतिक्रिया