झापा । झापाका विभिन्न क्षेत्रमा जंगली हात्तीको चहलपहल बढेसँगै स्थानीय बासिन्दा त्रसित बनेका छन्। बुद्धशान्तिमा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् भने मेचीनगरमा १४ वटा जंगली हात्तीको बथान मानव बस्तीनजिकै आएर बसेपछि सीमावर्ती क्षेत्रमा जोखिम बढेको छ।
बुद्धशान्ति गाउँपालिका–२ साम्पाङटोलमा शुक्रबार बिहान करिब ५ बजे जंगली हात्तीको आक्रमणबाट ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका छन्। उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको छ। बुधबारे प्रहरीले उनको उपचार भइरहेको जनाएको छ।
यसैबीच, मेचीनगर नगरपालिका–७ स्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजामा १४ वटा हात्तीको बथान आएर बसेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। बिहीबार बिहानदेखि साना बच्चासहितको हात्तीको बथान दशगजा क्षेत्रको झाडीमा रहेको छ। हात्ती बसेको झाडीको एकातर्फ भारतीय भूभागमा सिसौ र टिकका बिरुवा छन् भने अर्कोतर्फ नेपालतर्फ सतिघट्टा, मेचीबस्ती र गैरीगाउँजस्ता बाक्लो बस्ती रहेका छन्। हात्ती जुनसुकै बेला बस्तीमा प्रवेश गर्न सक्ने जोखिम भएपछि स्थानीयवासी रातभर सतर्क रहनुपर्ने अवस्था आएको छ।
स्थानीय प्रत्यक्षदर्शी जीआर धितालका अनुसार हात्तीको बथान बिहानदेखि नै झाडीमा देखिएको छ। दिनभर एउटै स्थानमा बसेका हात्ती रातिको समयमा बस्ती प्रवेश गर्न सक्ने भएकाले स्थानीयमा थप चिन्ता बढेको उनले बताए।
हात्तीलाई नेपाली बस्तीमा प्रवेश गर्न नदिन सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन कर्मचारी परिचालन गरिएको छ। डिभिजन वन कार्यालय झापाका निमित्त प्रमुख रामभगत यादवले हात्तीको गतिविधिमाथि निगरानी बढाइएको र रातिको समयमा विशेष सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिएको जानकारी दिए। हात्तीको त्रास सीमापारिसमेत फैलिएको छ। भारतीय सीमावर्ती क्षेत्रका १८ परिवार ज्यान जोगाउन घर छाड्न बाध्य भएका छन्। उनीहरूमध्ये केही परिवार नेपालतर्फका घरमा आश्रय लिन पुगेका छन् भने केही घुमाउरो बाटो हुँदै भारततर्फ गएका छन्।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार बुधबारदेखि नै हात्तीको बथानलाई नेपाल प्रवेश गर्न नदिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। मेचीनगर–४ को प्रसाद गौडा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेको बथानलाई रोकिएपछि हात्तीले बाटो परिवर्तन गरेका थिए। बाहुनडाँगी क्षेत्रमा प्रवेश गर्न नपाएपछि करिब पाँच किलोमिटर दक्षिण सरेको बथान मेची पुलमुनिको क्षेत्र हुँदै मेचीनगर–७ को दशगजा क्षेत्रमा पुगेको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भारतबाट आउने जंगली हात्तीले नेपाली बस्तीमा प्रवेश गरी घर भत्काउने र पाकेको धानबाली नष्ट गर्ने गरेका छन्। सम्भावित क्षति रोक्न सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको उनले बताए। हात्तीको आवागमन नियन्त्रण र बस्तीको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, वनरक्षक, र्यापिड रेस्पोन्स टिम, विभिन्न संघसंस्था तथा स्थानीय किसानसमेत परिचालित भएका छन्।
एकातिर हात्तीको आक्रमणबाट स्थानीय घाइते हुनु र अर्कोतर्फ ठूलो संख्यामा हात्तीको बथान बस्तीनजिकै रहनुले झापामा मानव–हात्ती द्वन्द्वको जोखिम थप बढाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो