घरायसी विवादमा श्रीमतीको हत्या : श्रीमान आफै गए प्रहरी चौकी

Jantedhunga

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार चौदण्डीगढी–२ डाँडागाउँ बस्ने अन्दाजी ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नी श्रीमती ४५ वर्षीया बिमला राईलाई धारिलो हतियार (सिकल) ले गर्दनमा प्रहार गरेका थिए।

घटना २०८३ असोज ४ गते राति करिब १२ः३० बजे भएको हो। गम्भीर घाइते बिमलालाई तत्काल उपचारका लागि प्रहरीको टोलीले नगर अस्पताल बेल्टार पुर्‍याएको थियो। उपचारकै क्रममा राति १ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि गन्दु राम राई आफैं प्रहरी चौकी माडिबासमा पुगेर घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको जनाएको छ।

घटनाको कारण र अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया