केन्द्रित कारागारबाट फरार कैदी ललितपुरबाट पक्राउ

Jantedhunga

ललितपुर । लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बेला फरार भएका एक कैदीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२५ भैंसेपाटीबाट जिल्ला लमजुङ, बेँसीशहर नगरपालिका–३ घर भएका ४७ वर्षीय विक्रमबहादुर थापा पक्राउ परेका हुन् । उनी केन्द्रीय कारागार, सुन्धाराबाट २०८२ भदौ २४ गते भएको प्रदर्शनका क्रममा फरार भएका थिए ।

थापालाई जिल्ला अदालत काठमाडौंले लागूऔषध मुद्दामा ३ वर्ष ६ महिना कैद, १ लाख ६० हजार रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा ६ हजार ४ सय रुपैयाँ दाखिला गर्नुपर्ने फैसला गरेको थियो ।

उक्त फैसलाअनुसार थापाले हालसम्म १ वर्ष ७ महिना कैद भुक्तान गरिसकेका छन् भने १ वर्ष ११ महिना कैद बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, जिल्ला अदालत चितवनबाट समेत थापाविरुद्ध २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको जनाइएको छ ।

फरार रहेका थापालाई खोजतलासका क्रममा भैंसेपाटीबाट पक्राउ गरिएको हो । पक्राउ परेका थापामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया