सुनसरी, असोज ३ गते । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले भदौ महिनामा आफ्नो कार्यक्षेत्रबाट ७३ लाख १ हजार २२३ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
गणका अनुसार बरामद गरिएका अवैध तथा भन्सार छलीका सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ भने प्रतिबन्धित तथा नष्ट गर्नुपर्ने सामग्री नष्ट गरिएको छ।
सो अवधिमा सशस्त्र प्रहरीले १ हजार ६०२ किलो ९६० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा, ०.१५ मिलिग्राम ब्राउन सुगर, २४ ट्याबलेट स्पास्मो प्रोक्सिभन र १४ ट्याबलेट नाइट्राजिपाम बरामद गरेको जनाएको छ।
लागूऔषध ओसारपसारमा प्रयोग भएको आशंकामा १ वटा एम्बुलेन्स र ५ वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको गणले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार भदौ महिनामा बरामद भएका सामानमा कार, सिटी सफारी तथा मोटरसाइकल, पेय पदार्थ तथा विभिन्न किराना सामान, लत्ताकपडा, मोबाइल पार्ट्स, रजनीगन्ध, मोबाइल डाटा केबल, मोबाइल डिस्प्ले, एसीलगायत इलेक्ट्रोनिक्स सामग्री, राखी, आयुर्वेदिक औषधि, झुल, सुर्ती, बेसारलगायतका सामान रहेका छन्।
त्यस्तै, बोइलर कुखुरा, माछा, अण्डा, मदिरा तथा पटका लगायतका प्रतिबन्धित सामग्रीसमेत बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध चोरी–पैठारी, भन्सार छली तथा प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी तथा चेकजाँचलाई निरन्तरता दिएको जनाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो