काठमाडौं। सर्वोच्च अदालतको प्रशासनिक नेतृत्वमा न्याय सेवाका अनुभवी अधिकारी ठगिन्द्र कट्टेल आउने बाटो खुलेको छ। न्याय सेवा आयोगले सर्वोच्च अदालतमा मानव संशाधन बिकास तथा प्रशासन महाशाखा प्रमुख रहेका सहरजिस्ट्रार कट्टेललाई रजिस्ट्रार पदमा बढुवाका लागि सिफारिस गरेसँगै उनको न्याय सेवा यात्राले नयाँ जिम्मेवारीतर्फ फड्को मारेको हो।
न्याय सेवा आयोगको भदौ ३० गते बसेको बैठकले सर्वोच्च अदालतमा कार्यरत सहरजिस्ट्रारद्वय ठगीन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिस्ट्रार पदमा सिफारिस गरेको हो। दुवै जना यसअघि सर्वोच्च अदालतमा सहरजिस्ट्रारका रूपमा कार्यरत थिए।
रजिस्ट्रार पद सर्वोच्च अदालतको प्रशासनिक संरचनामा महत्वपूर्ण जिम्मेवारी हो। अदालतको दैनिक प्रशासन, न्यायिक कामकारबाहीलाई आवश्यक प्रशासनिक सहयोग, शाखा तथा महाशाखाबीचको समन्वय र अदालतका प्रशासनिक प्रक्रियालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी रजिस्ट्रारको भूमिकासँग जोडिन्छ।
कट्टेलको नयाँ जिम्मेवारीलाई उनको न्याय सेवा क्षेत्रमा हासिल गरेको अनुभवसँग जोडेर हेरिएको छ। उनी २०७४ सालमा सहसचिव भएका न्याय समूहका अधिकारीमध्येका एक हुन्। त्यतिबेला गजेन्द्रबहादुर सिंह, ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाल एकैपटक सहसचिव भएका थिए।
सहसचिव तहमा पुगेपछि न्याय सेवाको प्रशासनिक संरचनामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका कट्टेल पछिल्लो समय सर्वोच्च अदालतको सहरजिस्ट्रारका रूपमा कार्यरत थिए। सर्वोच्चमै प्रशासनिक जिम्मेवारी सम्हाल्नुले उनलाई अदालतको उच्च तहको कार्यप्रणाली, प्रशासनिक समन्वय र न्यायिक प्रक्रियासँग प्रत्यक्ष जोडिएको अनुभव दिएको देखिन्छ।
कट्टेलको न्याय सेवा करियरमा अर्को उल्लेखनीय पक्ष उनको नाम विगतमा उच्च अदालतको न्यायाधीशका सम्भावित उम्मेदवारको सूचीमा समेत आएको थियो।२०८१ सालमा सर्वोच्च अदालतका सहरजिस्ट्रारमध्ये ठगिन्द्र कट्टेल,मानबहादुर कार्की, खडक अधिकारी, जितेन्द्रबाबु थपलिया, अच्युत कुइँकेल, गजेन्द्रबहादुर सिंह,बाबुराम दाहालको नाम उच्च अदालतको न्यायाधीशका लागि चर्चामा थिए। यद्यपि त्यतिबेला कट्टेल न्यायाधीश नियुक्तिको सूचीमा परेनन्।
सर्वोच्च अदालतका दुई रजिस्ट्रार पद रिक्त भएपछि आयोगले कट्टेल र दाहाललाई सिफारिस गरेको हो। यसअघि रजिस्ट्रार रहेका मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त तथा अर्का रजिस्ट्रार भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएपछि दुवै पद रिक्त भएका थिए।
न्याय सेवामा कुनै अधिकारीको क्षमता केवल पद वा उपाधिबाट होइन, उसले सम्हालेका जिम्मेवारी, प्रशासनिक अनुभव र संस्थागत कार्यसम्पादनबाट मूल्यांकन हुने गर्छ।
कट्टेलले सर्वोच्च अदालतको सहरजिस्ट्रारको भूमिकासमेत निर्वाह गरिसकेका छन्। त्यसैले अनुभव, संस्थागत ज्ञान र अदालतको प्रशासनिक कार्यप्रणालीबारेको प्रत्यक्ष अनुभव भएका अधिकारीका रूपम उनलाई चिनिन्छ।
यही पृष्ठभूमिमा सर्वोच्च अदालतको रजिस्ट्रार पदका लागि उनको सिफारिसलाई न्याय प्रशासनमा अनुभवी अधिकारीलाई महत्वपूर्ण प्रशासनिक जिम्मेवारी दिने निर्णयका रूपमा लिइएको छ।
अब कट्टेलसामु सर्वोच्च अदालतको प्रशासनलाई अझ प्रभावकारी, प्रविधिमैत्री, सेवाग्राहीमैत्री र समयानुकूल बनाउने चुनौती हुनेछ। अदालतमा मुद्दाको चाप, सेवा प्रवाह, सूचना प्रविधिको प्रयोग, फैसला कार्यान्वयन तथा सेवाग्राहीको गुनासो सम्बोधनजस्ता विषय रजिस्ट्रारको जिम्मेवारीसँग प्रत्यक्ष जोडिएका छन्।
सर्वोच्च अदालतले पछिल्लो समय अदालती दस्तुर QR Codeमार्फत भुक्तानी गर्न सकिने व्यवस्था, मुद्दा व्यवस्थापन प्रणालीमा आदेश सोही दिन प्रविष्ट गर्ने अभ्यास तथा न्याय प्रशासनमा सुधारसम्बन्धी विभिन्न पहल अघि बढाइरहेको छ।
त्यसैले अब रजिस्ट्रारको जिम्मेवारी सम्हाल्ने अधिकारीबाट परम्परागत प्रशासन सञ्चालनसँगै प्रविधि, पारदर्शिता, छिटो सेवा र न्यायमा पहुँचलाई थप प्रभावकारी बनाउने अपेक्षा रहनेछ।
ठगिन्द्र कट्टेलको हकमा रजिस्ट्रार पद केवल पदोन्नतिको विषय मात्र नभई न्याय सेवामा लामो समय हासिल गरेको अनुभवलाई सर्वोच्च अदालतको प्रशासनिक नेतृत्वमा प्रयोग गर्ने अवसर पनि हो।
सहसचिव हुँदै सहरजिस्ट्रारको जिम्मेवारी सम्हालिसकेका कट्टेल न्याय सेवाको प्रशासनिक अनुभव र सर्वोच्च अदालतको कार्यप्रणालीबारेको प्रत्यक्ष जानकार छ्न। न्याय सेवा आयोगको सिफारिसपछि अब सम्बन्धित कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि उनको नयाँ जिम्मेवारी औपचारिक रूपमा सुरु हुनेछ। यसै प्रक्रियामा न्याय परिषदमा कायममुकायम सचिवको जिम्मेवारीमा रहेका रामप्रसाद भट्टराईलाई न्याय परिषद्को सचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ। यसरी न्याय सेवाका तीन सहसचिव एकै चरणमा सचिव तहमा बढुवाका लागि सिफारिस भएका हुन्।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो