चार दिनको कठोर व्रतपछि उदाउँदो सूर्यलाई अर्घ्य, छठ पर्व सम्पन्न

Jantedhunga

विराटनगर । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै तराई–मधेशसहित देशभर मनाइएको चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। पर्वको अन्तिम दिन बिहानैदेखि नदी, पोखरी तथा विभिन्न जलाशयका किनारमा व्रतालु र श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।

छठको अन्तिम दिन अर्थात् उषा अर्घ्यका अवसरमा व्रतालुहरू पूजाका सामग्रीसहित बिहानै छठघाट पुगेका थिए। परम्परागत पहिरनमा सजिएका महिला तथा पुरुष व्रतालुहरूले पानीमा उभिएर उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा आराधना गरेका थिए।

बाँसका ढाकी र सुपलीमा ठेकुवा, भुसुवा, नरिवल, उखु तथा विभिन्न फलफूल राखेर सूर्यदेवलाई चढाइएको थियो। व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सन्तानको दीर्घायुको कामना गरेका थिए।

यसअघि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर धार्मिक विधिअनुसार पूजा आराधना गरिएको थियो। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको मुख्य अनुष्ठान पूरा भएको हो।

अर्घ्य अर्पणपछि व्रतालुहरूले पूजामा चढाइएका प्रसाद ग्रहण गर्दै लामो उपवास तोडेका छन्। उपवास तोड्ने यस विधिलाई पारण भनिन्छ। पारणपछि प्रसाद आफन्त, परिवारका सदस्य तथा छरछिमेकीलाई बाँडेर खाने चलन छ।

विराटनगरलगायत तराईका विभिन्न स्थानमा छठ पर्वका अवसरमा छठघाटहरू आकर्षक रूपमा सजाइएका थिए। रातभर झिलिमिली बत्तीले उज्यालिएका घाटमा बिहानसम्म श्रद्धालुहरूको बाक्लो भीड लागेको थियो।

सूर्यलाई प्रत्यक्ष देवताका रूपमा पूजा गरिने छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ्य दिने विशिष्ट परम्परा छ। धार्मिक आस्थासँगै प्रकृति, जल र सूर्यप्रतिको सम्मान अभिव्यक्त गर्ने यो पर्वले सामाजिक एकता र सद्भावको सन्देशसमेत प्रवाह गर्छ।

पहिले तराई–मधेशमा बढी प्रचलित रहेको छठ पर्व पछिल्लो समय पहाडी जिल्ला तथा ठूला सहरहरूमा समेत व्यापक रूपमा मनाउन थालिएको छ। धार्मिक निष्ठा, पवित्रता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठ पर्व उषा अर्घ्य र पारणसँगै यस वर्षका लागि बिदा भएको छ।

Jantedhunga
प्रतिक्रिया