नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआराधना गरिँदै

Jantedhunga

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज (बिहीबार) नवदुर्गाको पाँचौँ स्वरूप स्कन्दमाताको पूजाआराधना गरिँदै छ। आश्विन शुक्ल पञ्चमीका दिन घरघरमा तथा दसैँघरमा विधिपूर्वक पूजा गरी शक्ति, समृद्धि र ज्ञान प्राप्तिको कामना गरिन्छ।

सनातन धार्मिक परम्पराअनुसार स्कन्दमातालाई मातृत्व, करुणा र आध्यात्मिक ज्ञानको प्रतीक मानिन्छ। उनको आराधनाले शक्ति, ऐश्वर्य र विद्याको आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास छ।

नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने चलन छ। नौ दिनसम्म नवदुर्गाका फरक–फरक स्वरूपको पूजा गरिने यस पर्वमा परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।

नवरात्रको पूजापछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्ने परम्पराअनुसार नेपाली समाजमा १५ दिनसम्म बडादसैँ मनाइन्छ।

Jantedhunga
प्रतिक्रिया