काठमाडौं । बडादशैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज नवदुर्गामध्ये छैटौँ स्वरूप देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल षष्ठीका दिन घरघरमा स्थापना गरिएको पूजा स्थल तथा दशैँघरमा देवी कात्यायनीको आह्वान गरी श्रद्धापूर्वक पूजा गर्ने परम्परा छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको दुर्गा पूजा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा र स्कन्दमाताको आराधनापछि आज छैटौँ दिनमा प्रवेश गरेको हो ।
धार्मिक मान्यताअनुसार देवी कात्यायनीलाई शक्ति, साहस र दुष्ट शक्तिमाथि विजयको प्रतीकका रूपमा लिइन्छ । पौराणिक कथाअनुसार कात्यायन ऋषिको आश्रममा देवीले कन्याका रूपमा अवतार लिएकी थिइन् । ऋषि कात्यायनले उनलाई पुत्रीका रूपमा स्वीकार गरेपछि उनको नाम कात्यायनी रहन गएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
नवरात्रका अवसरमा देवीको आराधना गर्दा शक्ति, समृद्धि र ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ । यस अवधिमा घरघरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने र विधिपूर्वक पूजाआजा गर्ने चलन छ ।
नवदुर्गाका नौ स्वरूपमध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।
दुर्गापक्षका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । नवरात्रमा सुरु गरिएको पूजा नवमीसम्म जारी रहन्छ भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी बडादशैँ मनाउने परम्परा छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो