खोटाङ प्रशासनबाट घरमै बसेर चार प्रकारका सेवा लिन सकिने

Jantedhunga

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी चार प्रकारका सेवा अनलाइन माध्यमबाट उपलब्ध गराउन थालेको छ। सेवाग्राहीले आवश्यक कागजात इमेल वा ह्वाट्सएपमार्फत पठाएर सेवा लिन सक्ने व्यवस्था कार्यालयले लागू गरेको हो।

सेवा प्रवाहलाई सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले सुरु गरिएको यस व्यवस्थाअन्तर्गत दलित, जनजाति तथा खसआर्य प्रमाणित, थर प्रमाणित र धार्मिक तथा सांस्कृतिक पर्व, जात्रा, उत्सव एवं मेला सञ्चालनको अनुमति लिन कार्यालयमै उपस्थित हुनुपर्ने छैन।

प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार सेवाग्राहीले आफैँ वा नजिकको वडा कार्यालयको सहयोगमा आवश्यक कागजात पठाएर यी सेवा लिन सक्नेछन्।

दलित, जनजाति तथा खसआर्य र थर प्रमाणित गराउन सम्बन्धित वडा कार्यालयको सिफारिससहित जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि पठाउनुपर्नेछ। त्यस्तै, धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालनको अनुमति लिन सम्बन्धित वडा वा स्थानीय तहको सिफारिससहित निवेदन पेस गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गुरुङले सेवाग्राहीको समय र खर्च घटाउने लक्ष्यसहित सेवा प्रवाहको यो विधि अपनाइएको बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा यस्ता प्रविधिमैत्री सेवाको दायरा थप विस्तार गरिनेछ।

गत भदौ २५ गतेदेखि खोटाङमा कार्यरत गुरुङले नागरिकका समस्या र गुनासा सुन्न ‘नागरिक संवादका लागि प्रमुख जिल्ला अधिकारी’ अभियानसमेत अघि बढाउनुभएको छ। अभियानमार्फत नागरिकका सुझाव तथा समस्या प्रत्यक्ष सुनी सम्बन्धित निकायसँगको समन्वयमा समाधानको पहल गरिने उहाँले बताउनुभयो।

यसैबीच, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रण, जनचेतना विस्तार तथा समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउन संयुक्त अभियान पनि सञ्चालन गरिरहेका छन्।

Jantedhunga
प्रतिक्रिया