निर्जला एकादशी एक धार्मिक तथा सांस्कृतिक तथ्य

Jantedhunga

जन्तेढुंगा सवाददाता

खोटाङ । हिन्दु पञ्चाङ्गअनुसार जेष्ठमास शुक्लपक्षको एघारौँ तिथिको दिनलाई निर्जला एकादशी भनिन्छ । धर्म, अर्थ, काम, मोक्ष, प्रदायिनी यस एकादशीको हिन्दु परम्परामा अधिक महत्त्व छ । सच्चा श्रद्धा र भक्तिभावले यस एकादशीको विधिपूर्वक व्रत, उपवास गरेमा वर्षभरिका अरु सबै एकादशीहरुको व्रतबाट पाइने जति पुण्य यो एउटा एकादशीको व्रत गर्दा मात्र प्राप्त हुने कुरा हाम्रा विभिन्न पुराणहरुमा वर्णन गरिएको छ । यो एकादशी जति पुण्यदायिनी छ, यसको व्रत गर्न त्यति कठिन पनि छ । यसको व्रत गर्दा अन्नादिको भोजन त वर्जित छ नै, त्यसको अलवा जल सेवन गर्न पनि नमिल्ने धार्मिक प्रावधान छ ।

वर्षभरिका अन्य एकादशीहरुको उपवास गर्दा आहाराको संयमी भएजस्तै यस एकादशीको उपवास गर्दा आहाराको मात्र नभएर जलको संयमी हुनुपर्ने पनि विधान छ । यस एकादशीको उपवास गर्दा बिहान सूर्योदयदेखि द्वादशीका दिन बिहान सूर्योदयसम्म निर्जल र निराहार व्रत गर्नुपर्ने बताइएको छ । स्वच्छ मन र शान्त भावनाले निर्जला एकादशीको व्रत गर्ने व्यक्तिलाई राम्रो स्वास्थ्य, आरोग्य, सुख–समृद्धि, धन–सम्पदा, उत्तम बुद्धि, ऐश्वर्य, सौभाग्य, प्राप्त हुने पुराणहरुमा उल्लेख छ । निर्जला एकादशी पर्वमा रात्रि जाग्रामबाट सर्वश्रेष्ठ पुण्य प्राप्त हुने बताइएको छ । यस दिन जलले भरिएको सखरसहितको घडा दान गर्नु उत्तम मानिएको छ । जुन पुण्य यस धरतीमा भएका सम्पूर्ण तीर्थस्थलहरुको दर्शन र स्नानादिबाट मिल्छ, त्यो सबै पुण्य यस निर्जला एकादशीका दिन रात्रि जाग्रामबाट सहजै मिल्ने धार्मिक विश्वास छ । यदि कुनै व्यक्तिले यस एकादशीको एकपटक मात्र पूर्ण श्रद्धाका साथ विधिपूर्वक व्रत गर्दछ भने त्यो व्यक्ति स्वर्गलोक जान पाउने अधिकारी बन्छ भनिएको छ । मनलाई एकाग्र गरी शान्त र संयमी बनाउन, शरीरलाई नयाँ ऊर्जा प्रदान गर्न, मानसिक तथा शारीरिक सन्तुलन मिलाउनका निम्ति पनि एकादशीको व्रत, उपवासको अधिक महत्त्व छ । निर्जला एकादशीको व्रतका प्रभावले सुमेरु, मन्दराचल पर्वत समानका जन्म–जन्मान्तरदेखि गर्दै आएका पापहरु जति सबै भष्म भएर जान्छन् र उपवासक परमगतिको भागी बन्छ भन्ने कथन छ । निर्जला एकादशीको व्रत कथा सुन्दा र सुनाउँदा मात्र १०० गाई दान गरेबराबरको पुण्य प्राप्त हुने कुरा हाम्रा पद्मपुराण, स्कन्दपुराण, ब्रह्मपुराण, ब्रह्मवैवर्तपुराण, ब्रह्माण्डपुराण आदिजस्ता धार्मिक पुराणहरुमा वर्णन गरिएको छ । हाम्रो नेपाली पात्रोका अनुसार निर्जला एकादशी विसं २०८० साल जेठ महिनाको १७ गते इसं २०२३, मे महिनाको ३१ तारिखका दिन रहेको जनाइएको छ 

पद्मपुराण र हिन्दुहरुको महान ग्रन्थ महाभारतका अनुसार महर्षि वेदव्यासले पाण्डवहरुलाई धर्म, अर्थ, काम, मोक्ष, प्राप्तिका लागि एकादशीहरुको नियमित व्रत र उपवास गर्ने संकल्प गराएका थिए । सत्यवती नन्दन वेदव्यासको आज्ञाअनुसार माता कुन्ती, द्रौपदी, धर्मराज युधिष्ठिर, धनुर्धारी अर्जुन, नकुल, सहदेवले हरेक एकादशीको विधिपूर्वक व्रत, उपवास गर्न लागे । तर, भीमले व्रत गर्न पर्छ भनी परिवारका सबैले भन्दा पनि गर्दैनथे । भीमले गदा चलाउँथे, खाना खाने विषयमा उनी प्रशिद्ध थिए । उनको शारीरिक बनोट पनि विशाल र बलशाली थियो । भीमलाई ज्यादै भोक लाग्ने गर्दथ्यो, उनले खाना पनि धेरै खान्थे । उनले भोक खप्न सक्दैनथे अर्थात् उनको भोक उनका काबुमा हुँदैनथ्यो । यसकारण उनका निम्ति एक महिनामा दुई दिन उपवास बस्न अत्यन्तै कठिन कार्य थियो ।

समय बित्दै गयो, जब परिवारका सबै सदस्यहरुले भीमलाई एकादशीको व्रत गर्नुपर्छ भनेर दबाब दिन लागे, तब भीमले यसबाट बच्ने कुनै युक्तिको खोजी गर्न लागे । उनको लागि उपयुक्त के हुन सक्थ्यो भने भोको पनि रहन नपर्ने, उपवासको पुण्य पनि प्राप्त हुने । आफूमाथि परेको यस्तो विपत्तिको समाधानका लागि भीमले महर्षि वेदव्यासलाई यसबारे यथार्थ जानकारी गराए । भीमले वेदव्याससँग सोध्न लागे, ‘हे पितामह १ मेरा परिवारका सबै सदस्यहरुले हरेक एकादशीको व्रत, उपवास गर्दछन् र मलाई पनि व्रत गर्न दबाब दिन्छन् । म धर्म–कर्म, पूजा–पाठ, दानादि सबै गर्न सक्छु, तर भोक–भोकै बसेर व्रत, उपवास गर्ने मेरो सामथ्र्यको कुरा छैन । मेरा पेटभित्र ब्रिक नामको एक जहराग्नी ९अग्निको ज्वाला समानको दन्दनी बलिरहने राँको० छ, जसलाई शान्त पार्नका निम्ति मैले अत्यधिक भोजन गर्न आवश्यक पर्छ । यसकारणले गर्दाखेरि म भोजन नगरीकन भोकभोकै एकछिन पनि रहन सक्तिन ।’

भीमको यस्तो कुरा सुनेपछि व्यासजीले भन्न लागे, ‘हे भीम १ यदि तिमीले स्वर्ग र नरकमा विश्वास राख्दछौ र नरक जान चाहँदैनौ भने तिम्रो लागि यो व्रत गर्न अति आवश्यक छ ।’ व्यासजीबाट यस्तो कुरा भएपछि भीमलाई झन्–झन् चिन्ता अरु बढ्दै गयो । यसकारण उनले व्याकुल हुँदै व्यासजीलाई फेरि भन्न लागे, ‘हे महर्षि १ कुनै त्यस्तो उपाय मलाई बताइदिने कृपा गर्नुहवस् जसलाई मैले वर्षमा एक पटक उपवास गरेपछि मोक्ष प्राप्त हुन सकोस् ।’

भीमको यस्तो पुकाररुपी वाणी सुनेपछि महर्षि वेदव्यासजीले गदाधारी भीमलाई भन्न लागे, ‘हे वत्स १ व्रत, उपासनाको त्यस्तो एउटा उपाय पनि छ । तर, त्यो अत्यन्तै कठिन छ । यद्यपि तिमीले त्यसको उपासना गर्न सक्छौ भने तिमीले वर्षभरिका अरु सबै एकादशीहरुको फल प्राप्त गर्न सक्नेछौ । यस्तो एकादशीको नाम हो निर्जला एकादशी, जुन जेष्ठमास शुक्लपक्षमा पर्दछ । यस एकादशीको पुण्यका बारेमा भगवान् श्रीकृष्ण स्वयंले मलाई सम्पूर्ण कुरा बताएका थिए । हे कुन्तीपुत्र १ तिमीले यस जेष्ठमास शुक्लपक्षमा पर्ने निर्जला नामको एकादशीको व्रत, उपासना गर । यस एकादशीका दिन निराहार रहनुका अतिरिक्त आचवन र स्नानको अलावा पानी पनि ग्रहण गर्न मिल्दैन । यस एकादशीको शुभ दिवसमा निराहार र निर्जल उपवास गरेर भगवान् विष्णुको पूजा गर्ने तथा व्रतको दोस्रो द्वादशीका दिन स्नानादि गरी ब्राह्मणहरुलाई दान–दक्षिणा दिएर आशीर्वचन ग्रहण गरी उनीहरुलाई भोजन गराउने । त्यसपछि व्रतको पारण कार्य गरी अन्त्यमा मौन रही आफूले पनि भोजन गर्ने । यसरी तिमीले एउटा एकादशीको मात्र उपवास गरेर वर्षभरिका सबै एकादशीहरुको उपवास गरेर पाउने जति पुण्य पाउन सक्नेछौ ।’

महर्षि वेदव्यासबाट यस्तो सुझाव पाएपछि गदाधारी भीमले निर्जला एकादशीको स्वच्छ भावले विधिपूर्वक व्रत गरेर त्यसको पारण कार्यसमेत गरेका हुनाले त्यसै व्रतको प्रभावबाट उनले मोक्ष प्राप्त गरेका थिए भन्ने पौराणिक कथन छ । यसरी भीमले र पाण्डवहरु सबैले यस एकादशीको व्रत गरेका हुनाले यसको नाम भीम एकादशी या भीमसेनी एकादशी या पाण्डव एकादशी हुन गएको हो भन्ने कुरा हिन्दुहरुको प्राचीन महाग्रन्थ महाभारतबाट अवगत हुन आउँछ ।

निर्जला एकादशीको व्रत विधि

–दशमीका दिन सात्त्विक भोजन गर्ने । घाम अस्ताएपछि भोजन नगर्ने । राति भुईंमा सुत्ने ।

–एकादशीको दिन बिहान ब्रह्ममुहूर्त (रातिको ३ः३० देखि सूर्योदय पूर्व) मा उठेर स्नानादि कर्मबाट निवृत्त भई सफा र चोखा वस्त्र धारण गर्ने । अनि दाहिने हातको अञ्जुलीमा जल, फूल लिएर हे केशवरुपी विष्णु भगवान् १ आज मैले यस निर्जला एकादशीको निर्जल र निराहार उपवास गर्ने अठोट गरेको छु । यस व्रतलाई विधिपूर्वक सम्पन्न गर्नका लागि मलाई प्रभुबाट प्रेरणा मिलोस् । म प्रभुका शरणागत छु । प्रभु । मेरो रक्षा गर्नु हवस् भन्दै संकल्प गर्ने ।

–त्यसपछि पूजाकोठामा गएर सुन या चाँदी या तामा या पित्तल या माटोको एउटा घडा बनाई त्यसलाई पानीले भरेर त्यसमाथि तामाको थाली राखी त्यस थालीमा लक्ष्मी–नारायणको प्रतिमा स्थापना गरी त्यसमा रातो या पहेँलो वस्त्र धारण गराउने । अन्य देवी–देवताहरुको पनि पतिमा स्थापना गरेर तिनलाई जल, फूल, चन्दन, अक्षता, अर्र्घ आदिले पूजन गर्ने । लक्ष्मी–नारायणको प्रतिमामा जल र पञ्चामृतले स्नान गराएर जौ, तिल, कुश, तुलसीपत्र आदि चढाउने ।

–दिनभरि निर्जल, निराहार उपासना गर्ने । विष्णु भगवान् सम्बन्धीका भजनहरु सुन्ने । व्रत कथा सुन्ने–सुनाउने । विष्णु सहस्रनाम या ॐ नमो भगवते वासुदेवाय या ॐ नमो नरायणाय मन्त्रको जप गर्ने ।

–मध्यान्न भएपछि सूर्य भगवान्लाई अर्घ चढाएर प्रणाम गर्ने । आ–आफ्ना पितृहरुलाई स्मरण गर्दै तर्पण दिने ।

–घाम अस्ताएपछि आफू सफा, शुद्ध र पवित्र भएर पूजाकोठामा गई पुनः सबै देवी–देवताहरुको पूजन गरी नैवेद्य, पञ्चामृत, फलफूल, प्रसाद चढाउने । अनि धूप, दीप, आरती गरी शंख, घण्ट बजाउने । उपस्थित सबैलाई प्रसाद वितरण गर्ने ।

–रातभरि निर्जल, निराहार उपवास गरी जाग्राम बस्ने । भगवान्का भजन–कीर्तन सुन्ने । यदि रातभरि निर्जल, निराहार जाग्राम गर्न नसक्ने अवस्था भएमा बेलुका आरती गरेपछि दूध, चिया, फलफूल खान सकिने, तर यसो गर्दा आंशिक फल पाइने विधानमा उल्लेख छ । यस्तो अवस्थामा कम्तीमा पनि रातिको एक प्रहर समय (पूरा रातको समयको चार भागको एक भाग) व्यतीत गरेर भुईंमा सुत्ने ।

–द्वादशीका दिन बिहान सबेरै उठेर बिहानको नित्यकर्मबाट निवृत्त भई सफा, शुद्ध र चोखा कपडा लगाउने । अनिपछि दाहिने हातको अञ्जुलीमा जल, फूल, अक्षता समाएर हे विष्णु भगवान् १ मैले तपाईंको प्रेरणाबाट यस निर्जला एकादशीको विधिपूर्वक व्रत गरी त्यसको अहिले पारण गर्दैछु । व्रतका समयमा मबाट जान–अञ्जानमा कुनै भूल हुन गएको भए क्षमा पाऊँ । हे प्रभु १ म तपाईंको शरणमा छु । मेरो रक्षा गर्नुहोस् भन्दै हातका सबै चीज भगवान्लाई अर्पण गरेर प्रणाम गर्ने । लक्ष्मी–नारायणको प्रतिमामा जल, अघ्र्र्य र पञ्चामृतले स्नान गराएर पानीको घडासहित त्यो सबै आचरणवान् ब्राह्मणलाई दान दिने । पण्डित र ब्राह्मणहरुलाई सक्दो दक्षिणा दिएर उनीहरुबाट आशीर्वचन ग्रहण गर्ने । उनीहरुलाई भोजन गराउने । त्यसपछि आफ्नो औकातअनुसार सुपात्र ब्राह्मणहरुलाई अन्नादि, वस्त्रादि, छाता, जुत्ता, कमण्डलु, तिल, द्रव्य, चप्पल, धोती, गम्छा आदि दान गर्ने । अन्त्यमा मनमन हे प्रभु १ मेरो रक्षा गर्नुहवस् भन्दै मौन रही आफूले पनि भोजन गर्ने ।

–ब्रतको पारण कार्य द्वादशीको तिथिको पहिलो प्रहरको समयभित्र गरिसक्नु पर्ने धार्मिक प्रावधान छ ।



Jantedhunga
प्रतिक्रिया