इलाम । इलाममा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार राति बाबु–छोराको मृत्यु भएको छ ।
मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–३ हाँसपोखरीमा को १ ख ६४६२ नम्बरको टिपरले प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । इलामबाट झापा आउँदै गरेको टिपरले विपरीत दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सूर्योदय नगरपालिका–६ खादी गाउँका ४० वर्षीय दीर्घ राई र पछाडि सवार उनका बुवा अन्दाजी ७० वर्षीय पवनकुमार राई मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साँझ ६ः४० बजेतिर दुर्घटना हुँदा दुवै जना गम्भीर घाइते भएका थिए । उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको थियो । उपचारका क्रममा बाबु–छोराको राति ८ः२५ बजेतिर मृत्यु भएको प्रहरीको भनाइ छ । दुवै जनाको शव बी एन्ड सी अस्पतालमै छ ।
दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक इलामको माईजोगमाई गाउँपालिका–२ शान्ति चोकका अन्दाजी ३० वर्षीय खगेन्द्र थामीलाई नियन्त्रणमा लिएको छ । बाक्लो हुस्सु लागेकाले अगाडिको सवारीसाधन नदेखिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
