काठमाडौं । स्थानीय संस्कृति, इतिहास र सम्पदालाई चलचित्रमार्फत जनस्तरसम्म पुर्याउने उद्देश्यसहित काठमाडौं महानगरपालिकाले ‘टोल–टोलमा फिल्म महोत्सव’ सुरु गरेको छ। खुलामञ्चबाट सुरु गरिएको महोत्सवको उद्घाटन महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गरेकी हुन्।
महानगरका अनुसार सहरका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचारलाई नयाँ ढंगले अघि बढाउन महोत्सव आयोजना गरिएको हो। प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदासँगै स्थानीय जीवनशैली, परम्परा र चालचलनलाई चलचित्रसँग जोडेर प्रस्तुत गरिनेछ।
हरेक शुक्रबार र शनिबार सञ्चालन हुने महोत्सवमा चलचित्र प्रदर्शनसँगै परम्परागत बाजागाजा, सांस्कृतिक नृत्य, लघुचलचित्र प्रदर्शन, रचनात्मक उद्योगबारे छलफल तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। स्थानीय मौलिक खानाका परिकारको स्वाद चखाउने व्यवस्था पनि रहनेछ।
‘एक वडा, एक नमुना कार्यक्रम’ अन्तर्गत उत्पादन गरिएका स्थानीय वस्तु तथा सामग्रीको प्रदर्शनीसमेत महोत्सवको आकर्षण रहने महानगरले जनाएको छ। यसबाट स्थानीय उत्पादनको प्रवर्द्धन र रचनात्मक उद्योगलाई थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले चलचित्रलाई हलभित्र मात्र सीमित नराखी समुदायसम्म विस्तार गर्नुपर्नेमा जोड दिँदै स्थानीय संस्कृति र सम्पदालाई सिनेमामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा महोत्सवलाई उपयोग गर्न आग्रह गरिन्।
चलचित्र निर्देशक अविनाशविक्रम शाहले यस्तो अभियानले नयाँ सिर्जनशीलता विकास गर्न सहयोग पुग्ने र चलचित्रकर्मीलाई थप ऊर्जा मिल्ने बताए। उनका अनुसार महानगरको पहलले चलचित्र क्षेत्र र स्थानीय समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिएको छ।
महोत्सव व्यवस्थापनमा विभिन्न स्थानीय क्लब तथा सांस्कृतिक संस्थाहरू सक्रिय रूपमा सहभागी भएका छन्। सार्वजनिक स्थल, पार्क, चोक र डबलीहरूमा कार्यक्रम सञ्चालन गरी समुदायमै पुगेर चलचित्र र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने योजना बनाइएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो