दुई बर्षदेखी बाँधेर राखेका बालकको उद्धारपछि उपचार सुरु

Jantedhunga

काठमाडौँ । मानसिक अस्वस्थता खराब  भएको भन्दै  एक महिनादेखि खोरमा राखिएका पाँचथरका एक बालकको उध्दारपछि उपचार सुरु भएको छ । 

बाँसको खोर बनाएर राखिएका  ८ वर्षीय बालकको उध्दारसँगै ललितपुरस्थित पाटन अस्पतालमा उपचार सुरु भएको हो । उनलाई आइतबार पाँचथर स्थित मामा घरबाट उध्दार गरी सोमबार अस्पताल भर्ना गरीएको हो  । 

पाँचथर फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले सहित राष्ट्रिय महिला आयोगकी माननीय कार्यवाहक अध्यक्ष कृष्ण कुमारी पौडेल खतिवडाको विशेष पहलमा उनको उद्धार गरी काठमाडौँ ल्याएर उपचार सुरु गरिएको हो। 

मानसिक तथा शारीरिक रूपमा अपाङ्गता भएका उनलाई सुरक्षाको कारण देखाउँदै खोरमा राखिएको थियो । पत्रकार मीनकुमार राईले तयार गरेको भिडियो आर आर अनलाईन टीभि मार्फत राजकुमार खड्गाले सार्बजनिक  गरेपछि उनको अवस्थाबारे सरोकारबालाहरुको ध्यानाकर्षण भएको थियो । 

सोही क्रममा थप समन्वय र सहयोग जुटाई कार्यवाहक अध्यक्ष कुमारी पौडेल खतिवडाको सक्रियतामा उनलाई पाटन अस्पतालमा भर्ना गरी विशेषज्ञ चिकित्सकद्वारा उपचार अघि बढाइएको छ ।

परिवारका अनुसार, खोरमा राख्नुअघि करिब दुई वर्षसम्म युगेनको खुट्टा बाँधेर राखिएको थियो । छोरा भागेर भिर(पहराबाट लड्ने वा सवारी दुर्घटनामा पर्ने डरले असुरक्षित महसुस गरी सुरक्षित राख्ने प्रयासस्वरूप खोर निर्माण गरेको उनीहरूले बताएका थिए । आर्थिक अभाव र जनचेतनाको कमीले छोराको उचित स्याहार र नियमित उपचार गर्न नसकेको उनीहरूको भनाइ थियो ।

बालकले भोक लाग्दा ‘माम’ र तिर्खा लाग्दा ‘ओ(ओ’ भनेर इसारा गर्ने गरेका छन् । जन्मँदा सामान्य रहे पनि केही महिनापछि मात्रै बस्न थालेका युगेन प्रायः सुतिरहन्थे ।

कार्यवाहक अध्यक्ष पौडेल खतिवडाले बालकको सम्पूर्ण उपचार प्रक्रियामा आयोगको तर्फबाट निरन्तर निगरानी र आवश्यक सहयोग रहने बताइन् । अस्पतालमा उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको र चाँडै डिस्चार्ज हुने आशा परिवारले राखेको छ ।

Jantedhunga
प्रतिक्रिया