घरेलु तथा साना उद्योग कार्यालय खोटाङद्वारा पत्रकारलाई तालिम

Jantedhunga

खोटाङ, १५ असारः घरेलु तथा साना उद्योग कार्यालय खोटाङले जिल्लामा क्रियाशील सञ्चारकर्मीलगायतलाई मोबाइल पत्रकारितासम्बन्धी तालिम दिएको छ । डिजिटल प्रविधिलाई उपयोग गर्दै छिटो, भरपर्दो र प्रभावकारी समाचार सम्प्रेषण गर्ने/गराउने उद्देश्यले तीनदिने तालिम दिइएको हो । 

यही असार १३ गतेदेखि आयोजना गरिएको तालिममा सञ्चारकर्मी, शिक्षक, स्वास्थ्यकर्मी, व्यवसायीलगायत २० जनाको सहभागिता रहेको थियो ।  साना तथा घरेलु उद्योगीलाई विभिन्न तालिम दिने गरेको घरेलु तथा साना उद्योग कार्यालयले जिल्लामा पहिलोपटक पत्रकारसहितलाई तालिम दिएको हो । कार्यालय प्रमुख भेषराज खत्रीले भन्नुभयो,“हाम्रो कार्यालयले अहिलेसम्म पत्रकारलाई तालिम दिएको थिएन, यो नयाँ अनुभव हो । आगामी दिनमा पनि थप ‘एड्भान्स’ किसिमको तालिम आयोजना गर्ने योजना बनाएका छौँ ।”

तालिममा सहभागीलाई आधारभूत पत्रकारिता तालिमसँगै भिडियो तथा अडियो रेकर्डिङ, सम्पादन र प्रसारणका बारेमा सहजीकरण गरिएको प्रमुख प्रशिक्षक भीम राईले जानकारी दिनुभयो । 

घरेलु तथा साना उद्योग कार्यालय खोटाङले यसअघि फोटो तथा भिडियोग्राफीसम्बन्धी दशदिने तालिम पनि उपलब्ध गराएको थियो ।

Jantedhunga
प्रतिक्रिया