बेनीका सातवटा विद्यालयको कक्षा घटुवा

Jantedhunga

म्याग्दी, २४ असार : म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ । सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले बताउनुभयो । 

१–५ बाट १–३ मा झारिएको गणेश आधारभूत विद्यालय बेनपा–५ का दुई जना शिक्षकलाई प्रकाश मावि र सरस्वती मावि तातोपानीमा व्यवस्थापन गरिएको छ । १–५ बाट १–३ मा झारिएको जगन्नाध आधारभूत विद्यालयमा दुई जनामा शिक्षक राखिएको छ । १–५ बाट १–३ मा झरेको बेनपा–४ थामडाँडाको भृकुटी आधारभूतका एक जना शिक्षकलाई भूमे आधारभूतमा स्थानान्तरण गरिएको छ । अर्का एक जना शिक्षक अनिवार्य अवकाश लिने तयारीमा भएकाले सोही विद्यालयमा राखिएको छ । 

समायोजन भएका विद्यालयका विद्यालयका विद्यार्थीलाई नजिकैको अर्को विद्यालयमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको र नजिकै अर्को विद्यालय नभएका ठाउँका बालबालिका शिक्षाबाट वञ्चित नहोउन् भनेर कक्षा समायोजन नगरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।  तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने विषयगत शिक्षक नपाउनु अर्को समस्या भएको छ । 


Jantedhunga
प्रतिक्रिया