बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुने

Jantedhunga

काठमाडौ ।असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने भएको छ । 

बाढीबाट क्षति भएको सडक नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने भएको छ भने एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको छ । डिभिजन सडक भक्तपुरले काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । सिन्धुलीतर्फको एक खण्डका लागि पनि सूचना प्रकाशित भएको छ । 

डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेँसीदेखि चार सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीदेखि चार सय बेँसीसम्मको ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि बोलपत्र आह्वान भइसकेको बताउनुभयो । उहाँले सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको जनाउनुभयो ।

“क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि सरकारबाट आठ अर्ब ५० करोड रुपियाँ बजेट सुनिश्चितता प्राप्त भएको छ, त्यसबाट काभ्रेपलाञ्चोक जिल्लातर्फ तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुली खण्डका लागि एक अर्ब रुपियाँ बजेट सुनिश्चितता आएको छ,” सिडिई योगेशले भन्नुभयो । राजमार्गको अलि बढी मोड र अप्ठ्यारो रहेको बर्खेखोलादेखि डालाबेँसीसम्मको ५.५ किलोमिटर सडक पुनर्निर्माणका लागि भने जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भएको र जाइकाले स्थलगत अध्ययन गर्न लागेको र उक्त सडकखण्ड पुनर्निर्माणका लागि जापान सरकार लगभग तयार देखिएको उहाँले बताउनुभयो । 

बर्खेखोलादेखि डालाबेँसी सडकखण्डमा साना टनेल बनाउने, भायाडक्ट (अग्ला पुल) बनाउनेखालका नयाँ काम हुन सक्ने भएकाले जाइकासँग छलफल चलिरहेको छ । “अहिलेको अवस्था हेर्दा उनीहरूले गर्नेजस्तो देखिएकाले हामीले उक्त खण्डको बोलपत्र निकालेका छैनौँ,” सिडिई योगेशले थप्नुभयो । उहाँले उक्त खण्डमा रहेका सडकका मोडलाई सिधा बनाउनका लागि पाँच सय मिटरका छोटा टनेल (सुरुङमार्ग) बनाउन सकिने उल्लेख गर्नुभयो ।

उहाँले सडक पुनर्निर्माणका लागि सूचना प्रकाशित गरिएका सडक खण्डको जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य रहेको बताउनुभयो । क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माण गर्दा साबिकको सडक ट्र्याकबाटै सडक पुनर्निर्माण गरिने डिभिजन सडकले जनाएको छ । 

“बिपी राजमार्ग पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहज रूपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोसीखोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने छ,” सिडिई योगेशले भन्नुभयो । उहाँले भकुन्डेदेखि नेपालथोकसम्मको पुनर्निर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन (दुई लेन) सडक बनाउने गरी ठेक्का आह्वान भएको बताउनुभयो । बिपी राजमार्गमा हाल भएको सवारी चापले समेत दुई लेन सडकको आवश्यकता महसुस भएको जनाउँदै डिभिजन सडक भक्तपुरले निकट भविष्यमा धुलिखेलदेखि भकुन्डेसम्मको साथै बिपी राजमार्गमा दुई लेन सडक आवश्यक देखिएको जनाएको छ । कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । खुर्कोटदेखि सिन्धुलीको चियाबासीसम्मको सडकलाई छोटो बनाउन सुरुङमार्ग बनाउने विषयमा समेत जाइकाले अध्ययन गर्दै आएको छ । 

बिपी राजमार्गमा आगामी मनसुनको समयमा यातायात सञ्चालन गर्नका लागि डिभिजन सडक भक्तपुरले अस्थायी सडकको उचाइ बढाउने काम गरेको छ । कार्यालयका सिडिई योगेशले डिभिजन सडक भक्तपुर, काठमाडौँलगायतका डिभिजनबाट एक्साभेटर, रोलर, लोडर, टिप्परलगायतका दैनिक ३७ वटा उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको बताउनुभयो । “बाढीले क्षति गरेको राजमार्गमा वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलामा रहेको निर्माणसामग्री प्रयोग गरेर सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाउने काम भइरहेको छ,” सिडिई सुमन योगेशले भन्नुभयो । 

उहाँले वैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाइ बढाउनेलगायतको काम सम्पन्न हुने बताउनुभयो । बाढीले क्षति पु¥याउन सक्ने र अप्ठ्यारो स्थानमा तारजाली राख्ने कामसमेत भइरहेको छ । असोजभन्दा अघि आएका जस्ता बाढीले क्षति नगर्ने गरी अस्थायी सडक बनाइएको डिभिजन सडक भक्तपुरले जनाएको छ । 

कार्यालयले वर्षायाममा पहिरोलगायतबाट हुन सक्ने राजमार्ग अवरोधका लागि उपकरण र जनशक्ति व्यवस्थापन गरिने र यदि राजमार्ग अवरुद्ध भएको खण्डमा भकुन्डेबेँसी, तेमाल, मेच्छेपौवा हुँदै सिन्दुरेटारबाट वैकल्पिक सडक सञ्चालन गरिने जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया