भदौ २८, बिराटनगर । भूपेन्द्र राईको नेतृत्वमा चार मन्त्री सहित कोसी प्रदेश सरकारमा कांग्रेस सहभागी ।
नेपाली कांग्रेस कोसी प्रदेशका महामन्त्री तथा खोटाङ प्रदेश सभा "ख" बाट निर्वाचित प्रदेश सभा सदस्य (सांसद) माननीय भूपेन्द्र राईको नेतृत्वमा नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी भएको छ ।
नेपाली कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गर्दै भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्री, खगेन सिंह हाङमाङ उद्योग कृषि तथा सहकारी मन्त्री, सदानन्द मण्डल पर्यटन वन तथा वातावरण मन्त्री र भूमि राजवंशि भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएका छन् । राई सहित नव नियुक्त तीनजना मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ र राज्यमन्त्री राजवंशिलाई मुख्यमन्त्री हिक्मत कार्की द्वारा आजै पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ ।
कोसी प्रदेश सरकारको नेतृव गर्दै सरकारमा गएका भूपेन्द्र राईले उद्धब थापा नेतृत्वको कांग्रेस संसदीय दलको प्रमुख सचेतकको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् । राईले यस अघि २०७४ वैशाखमा सम्पन्न प्रथम स्थानीय तह निर्वाचनमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।
गाउँपालिका अध्यक्ष रहँँदा जिल्ला सदरमुकाम जोड्ने साप्सुुुुु खोलाको मोटरेबल पुल र कोभिड महामारीको समयमा उनले आफैंले पिपिए लगाएर जनताको घर घरमा पुगी बिरामी बोकेर गरेको सेवाले उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित भएका थिए ।
नेपाल विद्यार्थी संघको पृष्ठभुमि बाट कांग्रेस राजनितीमा उदाएका भूपेन्द्र राई राजनीति र पढाईलाई संगसंगै लैजान सकिन्छ भन्ने विषयको एक उदाहरण पात्रको रुपमा पनि चिनिन्छन । उनले नेविसंघ केन्द्रीय सदस्य रहेकै बेला त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तरमा टियु टप गरि गोल्डमेडल समेत प्राप्त गरेका थिए ।
पार्टी राजनीतिमा भने उनले खोटाङ कांग्रेसको जिल्ला कार्य समिति सदस्य संगै संगठन बिभाग प्रमुख र विद्यार्थी बिभागको केन्द्रीय सदस्यमा मनोनयन भइ जिम्मेवारी पूरा गरिसकेका छन् । यसको अलावा खोटाङ बाट २०७२ र २०७८ सालमा दुईपटक महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
