टीकापुर, २२ जेठ : कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरु गरिएको छ । पालिकाले १० दिनसम्म हरेक वडामा बस्तीमा गएर स्वास्थ्य शिविर सञ्चालन थालेको छ । पालिकाले शिविरमा उपचारमा आउने बिरामीका लागि चिकित्सकको सेवा, ल्याब परीक्षण र निःशुल्क औषधिको व्यवस्था गरेको छ । यसका साथै क्षयरोग परीक्षण, आँखाको उपचार दिन थालिएको छ ।
शिविरमा सिकलसेल, एनिमिया रोग स्क्रिनिङ, नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा उपचार सेवा, क्षयरोग जोखिम समूह तथा कम पहुँच भएका समुदायमा सक्रिय खोज पड्ताल कार्यक्रम, निःशुल्क ज्येष्ठ नागरिकका आँखा उपचार दिन थालिएको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो । ‘‘ नगर प्रमुख जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत पनि नागरिको घरदैलोसम्म उपचार सेवा पु¥याउने लक्ष्य लिइएको छ’’, उहाँले भन्नुभयो, ‘‘पहिलो दिन आइतबार ३०१ जनाको उपचार गरिएको छ । वडा नं। २ मा पहिलो दिन आयोजना गरिएको स्वास्थ्य शिविरमा आँखासम्बन्धी समस्या, नसा तथा ढाडको समस्या, मधुमेह, उच्च रक्तचापलगायत समस्या भएका बिरामी बढी आएका छन् । थारु समुदायमा सिकलसेल तथा एनिमिया रोगको बढी समस्या देखिने भएकाले यसको परीक्षणका लागि ल्याव सुविधा गाउँ गाउँमा लगिएको र शंका लागेकाको थप परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ । यसका साथै क्षयरोगीको खोज पड्तालका लागि क्षयरोग निदान घुम्ती सेवाअन्तर्गत राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सुदूरपश्चिमलाई उपलब्ध गराएको बस गाउँगाउँमा लगेर परीक्षण सेवा दिन थालिएको छ । पालिकाले शिविरमा आँखाको उपचार र चश्मा चाहिनेलाई चश्मा र शल्यक्रिया गर्नुपर्नेलाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएको छ ।
स्वास्थ्य उपचार सेवा लिनुभएको रामेश्वर चौधरीले खुसी लागेको बताउनुभयो । ‘‘आँखा, कान तथा नसासम्बन्धी समस्या थियो’’, उहाँले भन्नुभयो, “राम्ररी हिँड्न सक्दिन, नातिले लिएर आएको हो । एकै ठाउँमा सबै उपचार पाए । नगरपालिकाले राम्रो सेवा दियो ।”
स्वास्थ्य सेवा पाउनु नागरिकको नैसङ्र्गिक अधिकार भएकाले पालिकाले गाउँगाउँमा सेवा दिन थालेको नगरप्रमुख रामलाल डगौरा थारुले बताउनुभयो । ‘‘हामीले नागरिकको उपचार सहजताका लागि हरेक वडामा स्वास्थ्य संस्था स्थापना गरेका छौँ, त्यहाँसम्म पनि जान नसक्ने र चिकित्सकको सेवा सहज पाउन भनी यो अभियान सुरु भएको हो’’, उहाँले भन्नुभयो, ‘‘एकै ठाउँमा धेरै खाले उपचारका लागि एकिकृत सेवा दिन थालेका हौँ ।’’
वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले शिविरमा विशेष गरी ज्येष्ठ नागरिक र अपाङ्गगता भएकालाई सहज हुने बताउनुभयो । स्वास्थ्य शिविरमा टीकापुर अस्पताल, साथी अस्पतालका डाक्टर, पालिकाका स्वास्थ्यकर्मी, आँखा परीक्षणका लागि श्री कृष्ण आँखा अस्पतालका डाक्टरले उपचार सेवा दिनेछन् ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो