वेद र मुन्दुम/मुन्धुम बीचको समानता र भिन्नता ✍️ प्राज्ञ डा. भक्त राई

Jantedhunga

वेद र मुन्दुम/मुन्धुम अत्यन्तै वृहत् र विराट विषय हुन् । यो छोटो लेखमा यिनीहरुको अत्यन्त छोटो विवरण समेत अटाउन कठिन हुन्छ । यद्यपि यहाँ वेद र मुन्दुम/ मुन्धुमबिचको समानता र भिन्नता अनि यिनीहरुबारे छोटो जानकारी गराउने प्रयास गरेको छु । 

  " वेद" के हो?                                                        "वेद" शब्दको शाब्दिक अर्थ ज्ञान हो । वेदका बारेमा स्वामी प्रपन्नाचार्य (२०५७:१) भन्छन् -"वेधते=ज्ञायते धर्मादिपुरुषार्थ अनेन इति वेद: अर्थात् जसबाट धर्मादि पुरुषार्थलाई राम्रोसङ्ग जान्न, बुझ्न, केलाउन सक्छौं त्यसलाई वेद भनिन्छ । वेद हिन्दु धर्मको आधिकारिक एवं प्रामाणिक मूल ग्रन्थ हो । आर्यहरु भारतीय उपमहाद्दीपमा प्रवेश गर्दा सुसंस्कृत, समुन्नत जातिका रूपमा विकसित भइसकेको देखिदैन ।

प्राकृतिक असन्तुलन ( गर्मी, जाडो, वर्षा, भूकम्प, बाढी, पहिरो, चट्याङ, आँधी, तुफान, ज्वालामुखी, अतिवृष्टि, अनावृष्टि ), रोगव्याधि, जङगली जन्तुको आक्रमण आदि विषयमा तत्कालीन आर्यहरु अनविज्ञ थिए । त्यही अज्ञानताको कारण उनीहरु ती घटनाहरु कुनै न कुनै अज्ञात शक्तिको कारण घटिरहेको छ भन्ने ठान्दथे । उनीहरूले ती अज्ञात प्राकृतिक शक्तिहरुलाई बुझ्न सकेन । त्यसैले उनीहरुले ती प्राकृतिक शक्तिहरु हावा, पानी, आगो, वन, सूर्य, चन्द्र, तारामण्डल, आकाश, धरती आदिलाई नै देवत्त्वकरण गरेर श्रद्धापूर्वक देवीदेवताको रूपमा स्तुति गर्न थाले ।

तत्कालीन आर्यहरुले आफ्ना जीवनपद्धतिलाई सहज र सुखमय बनाउने हेतुले अज्ञात प्राकृतिक शक्तिहरुको स्तुति, भक्ति, प्रार्थना र पूजाअनुष्ठान गर्न अनेकौं स्तुतिमय पधरचनाहरुको निर्माण गरे । ती स्तुतिमय पधरचनाहरुलाई पछिल्लो पुस्तालाई समेत मौखिक तथा श्रुतिपरम्परामै हस्तान्तरण गर्ने क्रम धेरै वर्षसम्म रह्यो । त्यही छोटाछोटा पधरचनाहरुलाई ऋचा भनिन्छ । यसरी ती स्तुतिमय, भक्तिमय पधरचनाहरुलाई अर्थात् ऋचाहरुलाई सङ्लन गरेर नै वेदको निर्माण हुनपुग्यो । त्यसैले वैदिक वाङमयलाई श्रुति पनि भनिन्छ ।

लिपिको आविष्कार भइनसकेको त्यस अवस्थामा ज्ञान र सूचना संरक्षणको एकमात्र उपाय गुरुशिष्य परम्परा थियो । तत्कालीन समयमा शिष्यहरु गुरुआश्रममा बसेर गुरुको सेवा गर्दै गुरुमार्फत ज्ञान आर्जन गर्दथे । यसरी प्राकृतिक असन्तुलन, जन्म, मृत्यु, रोग, भोक, चिन्ता, भय, त्रास आदि रहस्यलाई तत्कालीन आर्यहरुले बुझ्न सकेन । अन्ततः उनीहरुले त्यही प्राकृतिक शक्तिको शरणमा आफूलाई समर्पित गरी ती अज्ञात शक्तिको भक्ति, प्रार्थना, स्तुति र अनुष्ठान गर्ने क्रममा नै वेदको जन्म हुन पुग्यो । 

वेद हजारौं वर्षसम्म श्रुति, स्मृति र मौखिक परम्परामै जीवित रह्यो । पछि लिपिको आविष्कार पछि भने यसलाई सङ्कलन गरियो र यसको विषय र विधा अनुसार तीन भागमा विभाजन गरियो । जसलाई वेदत्रयी अर्थात् ऋग्वेद, यजुर्वेद र सामवेद भनियो । पछि पुनः एउटा वेदको खण्ड अथर्ववेद थपियो र वेदको सङ्ख्या चार अर्थात् चतुर्वेद भयो। 

यसरी आर्यहरुको धर्म, संस्कृति र दर्शनको आधिकारिक एवं मूल वाङमय "वेद" ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी वेदको सङ्ख्या चार हुनपुग्यो । यी चारवटै वेदको प्रत्येकको चार भाग छन् । ती हुन् -संहिता, आरण्यक, ब्राह्मण र उपनिषद् । यसरी नै चार वेदका चारैवटा ऋत्विज् ( यज्ञ गराउने) क्रमशः होता, उदगाता, अध्वर्यु र ब्रम्हा छन् । यसैगरी वेदको स्वरुप, प्रयोग, अर्थ, भाषा आदि बुझ्नलाई सजिलो होस भनेर वेदाङगको पनि रचना गरिएका छन् । ती वेदाङग छ वटा छन् ती हुन् - क्रमश: शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्दशास्त्र र ज्योतिष । चार वेदका चारवटै उपवेद छन् । आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद र स्थापत्यवेद । 

चार वेदमध्ये ऋग्वेद सर्वप्राचीन हुन् । ऋग्वेदमा जीव, प्रकृति र ब्रम्हज्ञानको महिमाको चर्चा गरिएको पाइन्छ । ऋग्वेदमा ८ अष्टक, ६४ अध्याय र १० मण्डल र प्रत्येक मण्डलमा सूक्त र मन्त्र गरेर विभाजन गरिएको छ । दोस्रो वेदका रूपमा यजुर्वेदलाई लिइन्छ । यजुर्वेदमा दुईवटा शाखा छन् । वाजसनीय शाखा जसलाई शुक्लयजुर्वेद र तैत्तिरीय शाखा जसलाई कृष्णयजुर्वेद भनिन्छ ।

नेपालमा शुक्लयजुर्वेद अनुसार कर्मकाण्ड गरिन्छ । यजुर्वेदका मन्त्रहरु मूलतः पूजाआराधना र कर्मकाण्ड सम्पन्न गर्नका लागि सङ्कलन गरिएका छन् । त्यसैले यजुर्वेदलाई कर्मकाण्डको वेद पनि भनिन्छ । सामवेद तेस्रो वेद हो । सामवेद आकारमा सबैभन्दा सानो भए पनि यसलाई सर्वश्रेष्ठ मानिन्छ । "साम" भनेको गीत हो । शास्त्रीय सङगीतको स्रोत ग्रन्थ नै सामवेद हो । सामवेदले भक्ति र उपासनाबारे बताउँछ । सामवेदको पूर्वाचिक र उत्तरावार्चिक गरी मुख्य दुई खण्ड छन् । यसरी नै अथर्ववेदलाई चौथो वेदका रूपमा लिइन्छ । यस वेदलाई ज्ञानकाण्डको रूपमा लिइन्छ । यो वेद अथर्व नामक ऋषिले सङ्कलन गरेको हुनाले अथर्ववेद भनिएको मानिन्छ ।

अथर्वको शाब्दिक अर्थ नचल्नु, नडग्मगाउनु हो । तन्त्रमन्त्र र आयुर्वेदबारे यसै वेदमा उल्लेख गरिएका छन् । अथर्ववेद २० काण्ड र ५९७१ मन्त्र र ७३१ सूक्तमा विभाजित छन् ।

वेदको रचनाकार व्यासलाई मानिन्छ परन्तु वेद एउटै व्यक्तिले सिर्जना गरेको वा रचना गरेको ग्रन्थ होइन । यसलाई विभिन्न समयका विभिन्न ऋषि, महर्षि र मुनिहरुले सिर्जना गरेका हुन् । वैदिक वाङमयका अध्येता विष्णु प्रभातका अनुसार वेदमा ३८१ जना ऋषिहरुले सिर्जना गरेका मन्त्रहरु छन् । वेदका छोटा मन्त्रहरुलाई ऋचा भनिन्छ । वेदमा संरचित रचनाहरुलाई त्यसको भाषिक स्वरूप अनुसार मन्त्र, ऋचा र सूक्त भनिन्छ । 

मुन्दुम/ मुन्धुम के हो? 

मुन्दुम/ मुन्धुम किरातीहरुको इतिहास, धर्म, संस्कृति र दर्शनको मूल आधारयुक्त प्राचीन वाङमय हो । यो हालसम्म लगभग श्रुति, स्मृति र मौखिक परम्परामै जीवित रहेको छ । किराती समुदायभित्र पनि लिम्बू/ याक्थुङभित्रका युमावादीहरु, यमा, यवा, शाम्बा, फेदाङमावादीहरु, सत्यहाङमा पन्थीहरु सबैले मुन्धुम भन्दछन् तर राईभित्रका विभिन्न भाषिक समुदाय र याक्खा, सुनुवार, जिरेल, सुरेल, थामी आदिले भने आआफ्नो भाषा अनुसार फरकफरक सम्बोधन गर्दछन् । जस्तै: चाम्लिङले "मुन्दुम"/ "मुदुम", कुलुङले "रिद्दुम", दुमी, मेवाहाङ, नेवाहाङ, साम्पाङले "मुद्दुम", पुमाले "मुन्दुम", बान्तावाले मुन्दुम, याम्फुले मिन्दुम, लोहोरुङले "मुन्दुम"/"पेल्लाम", वाम्बुलेले "/मुक्तुम"/"मुक्दुम", थुलुङ्ले "ड्युमला", सुनुवारले "मुग्दुम" भन्ने गर्दछन् । यसरी किरातीहरुले मुन्दुम/ मुन्धुमलाई चिनाउन आआफ्नो भाषा अनुसार फरकफरक नामले सम्बोधन गर्ने गर्दछन् । 

यसरी नाम फरक भएजस्तै सामान्यतया अर्थ पनि फरक पाइन्छ । पुमा भाषामा "मुन" को अर्थ झारफुक गर्नु र "दुम" को अर्थ शास्त्र वा बोली भन्ने हुन्छ । चाम्लिङ भाषामा चाहिँ "मुन" को अर्थ रच्नु, उत्पन्न गर्नु र "दुम" को अर्थ बोली भन्ने लाग्दछ । यसरी नै बान्तावा भाषामा चाहिँ "मुन" अर्थ मान्छे र "दुम"को अर्थ बोली भन्ने लाग्दछ । लिम्बू / याक्थुङ भाषामा चाहिँ "मुन" को अर्थ गति वा गतिमयता र "धुम" को अर्थ कठिन, शक्ति वा बल भन्ने लाग्दछ । यसरी किराती समुदायले आआफ्नो भाषा अनुसारको सम्बोधन र अर्थ लगाए तापनि सारमा भन्ने हो भने वस्तुतः मुन्दुम/ मुन्धुमको शाब्दिक अर्थ मान्छेको अभिव्यक्ति भन्ने नै हो । तर यहाँ विचारणीय कुरो के छ भने मान्छेको जुनसुकै प्रकारको र जोसुकै मान्छेको अभिव्यक्तिलाई भने मुन्दुम/ मुन्धुम भनिदैन । विशेष ज्ञानप्राप्त, सिद्धप्राप्त मान्छेले जीवन र जगतका सम्बन्धमा गरिएको दार्शनिक व्याख्यालाई मात्र मुन्दुम/ मुन्धुम भानिन्छ ।

मुन्दुम/ मुन्धुम के हो भन्ने विषयमा हिजोआज निकै छलफल, चर्चा, बहस हुने गरेको देखिन्छ । तर मुन्दुमको बहुआयामलाई बुझ्न नसकेको कारण मुन्दुम/ मुन्धुमलाई प्रष्ट पार्ने खालको परिभाषा हालसम्म देखिंदैन । कसैले मुन्दुमलाई इतिहास भनेका छन् भने कसैले यात्रा विवरण । कसैले दर्शनशास्त्र भनेका छन् भने कसैले सृष्टिवर्णन । यसैगरी कसैले जन्मदेखि मृत्युसम्मका संस्कारविधि भन्छन् त कोही अभिनय र सङ्गीत । यहाँ विचारणीय के छ भने मुन्दुम/ मुन्धुममा माथि उल्लिखित सबै विषयहरू इतिहास, यात्राविवरण, दर्शन, सृष्टिवर्णन, संस्कारविधि, अभिनय, गीतसङ्गीत त हुन्छ नै परन्तु मुन्दुम/ मुन्धुम भनेको त्यो एउटै विषयको वा क्षेत्रको शास्त्र चाहिँ होइन । जस्तो कि मुन्दुम/ मुन्धुममा दर्शन पनि पाइन्छ तर मुन्दुम आफैमा दर्शनशास्त्र भने होइन । मुन्दुममा यात्राविवरण पनि पाइन्छ तर यो यात्राविवरण मात्र चाहिँ होइन । वस्तुतः मुन्दुम/ मुन्धुम भनेको प्राचीन पुर्खाहरुले देखेर, सुनेर, सुँघेर, चाखेर, छामेर, भोगेर प्राप्त गरेको अनुभवजन्य ज्ञानभण्डार हो ।

प्राचीन पुर्खाहरुले जीविकोपार्जन गर्ने क्रममा कुन कार्य गर्न हुने कुन कार्य गर्न नहुने, कुन वस्तु खानु मिल्ने कुन वस्तु खानु मिल्ने, किन गर्ने, किन नगर्ने, कसले गर्ने, कहिले गर्ने, कति गर्ने, किन खाने, किन नखाने, कति खाने, कसरी खानेजस्ता अनेकौं अनुभव र अनुभूतिहरु प्राप्त गरे । त्यही अनुभवजन्य ज्ञान नै नाक्छोङ, दोबा, कुबी, यवा, यमा, शाम्बा, फेदाङमाजस्ता ज्ञानप्राप्त, सिद्धिप्राप्त, शक्तिप्राप्त, प्रतिभावान व्यक्तिहरुले पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्दै लगे । यसरी जीविकोपार्जन गर्ने क्रममा प्रकृति र जीवनका अनुभव र अनुभूतिका आधारमा निर्माण भएका लयात्मक मौखिक वाङमय नै वास्तवमा मुन्दुम/ मुन्धुम हुन् । 

मुन्दुम/ मुन्धुमभित्र किरातीहरुको समग्रता प्रविम्बित भएको हुन्छ । यसभित्र उनीहरुको भाषा, इतिहास, भूगोल, धर्म, संस्कृति, दर्शन, चिन्तन र समग्र जीवनपद्धति मुखरित भएका हुन्छन् । मुन्दुमभित्र विशेषत: धार्मिक, सांस्कृतिक, सामाजिक मूल्य र मान्यताका अतिरिक्त मान्छेको उत्पत्ति, जीवजन्तुको उत्पत्ति, पृथ्वीको उत्पत्ति र समग्र चराचर जगतको उत्पत्तिको विवरणहरु समेत प्राप्त गर्न सकिन्छ ।

मुन्दुम/ मुन्धुमको प्रमुख विशेषताहरुमा मौखिक तथा कथ्यपरम्परा, धार्मिकता, प्राचीनता, भाषिक विविधता, आख्यान विविधता, सीमितता, हस्तान्तरणीय आदि हुन् । यसरी मुन्दुम/मुन्धुमको विभिन्न रुप र स्वरुपका आधारमा के भन्न सकिन्छ भने "मुन्दुम/ मुन्धुम भनेको प्राचीन किरातीहरुले जीविकोपार्जन गर्ने क्रममा प्राप्त गरेको अनुभव र अनुभूतिका आधारमा निर्माण गरेको चिन्तनशील मौखिक वाङमय हो ।"

वेद र मुन्दुम/ मुन्धुमबिच अनेकौं प्रकारको समानता र भिन्नता प्राप्त गर्न सकिन्छ । केही समानता र भिन्नताहरु देहाय अनुसार छन् : 

 वेद र मुन्दुम/ मुन्धुमबिच समानता 

# वेद र मुन्दुम/ मुन्धुम मान्छेले जीविकोपार्जन गर्ने क्रममा प्राप्त अनुभव र अनुभूतिजन्य ज्ञानभण्डार हुन् । 

# वेद र मुन्दुम/ मुन्धुम प्राचीन मानवसङ्ग सम्बन्धित इतिवृतान्त हुन् ।

# वेद र मुन्दुम/ मुन्धुम दुबैले जीवन र जगतबारेमा व्याख्या र विवेचना गर्दछ ।

# वेद र मुन्दुम/ मुन्धुम दुबैले कर्म, धर्म, ज्ञान, स्तुति र अनुष्ठानबारे बताउँछ । 

# वेद र मुन्दुम/ मुन्धुम दुबैलाई सयौं ऋषि, महर्षि, नाक्छोङ, माङ्पा, फेदाङमाहरुले सङकलन र संरक्षण गरेका हुन् ।

# वेद र मुन्दुम/ मुन्धुम दुबै पधमय अर्थात् गेयात्मक वाङमय हुन् ।

# वेद र मुन्दुम/ मुन्धुम दुबैमा तन्त्र-मन्त्र, आत्म, परमात्म, कुलपित्री आदि अलौकिक एवं अमूर्त वस्तुको सत्तालाई स्वीकार गरिएको छ ।

# वेद र मुन्दुम/ मुन्धुम दुबैमा मान्छेको धर्म, संस्कृति, इतिहास, भूगोल, समाज र जीवनपद्धतिको वर्णन पाइन्छ ।

यसरी वेद र मुन्दुम/ मुन्दुम दुबैमा कयौं समानताहरु पाइन्छन् यद्यपि यिनीहरूबिच अनेकौं भिन्नताहरु समेत पाइन्छन् जुन यस प्रकार छन् :

# वेदलाई सबै मानवको भनिए तापनि मूलतः आर्य जातिसङ्ग सम्बन्धित वाङमय हो भने मुन्दुम/ मुन्धुम किराती जातिसङ्ग सम्बन्धित वाङमय हो । 

# वेद लिखित परम्परामा छ भने मुन्दुम/ मुन्धुम अझै पनि लगभग मौखिक परम्परामै छ । 

# वेद संस्कृत भाषामा छन् भने मुन्दुम/ मुन्धुम किराती भाषामा छन् ।

# वेदको स्रोत तथा सङ्कलक ऋषि, मुनिहरु हुन् भने मुन्दुम/ मुन्धुमका स्रोत माङ्पा, नाक्छोङ, फेदाङ्पा हुन् । 

# वेदमा मूलतः आर्य जातिको वंशपरम्परा, धर्म, संस्कृति, दर्शन, इतिहासको उल्लेख पाइन्छ भने मुन्दुम/ मुन्धुममा किराती जातिको समग्रताको उल्लेख पाइन्छ । 

# वेदले भक्ति, शरणागति, स्तुति, अनुष्ठान र धर्ममा जोड दिइएको छ भने मुन्दुम/ मुन्धुमले कर्ममा जोड दिएको छ । 

# वेद विभिन्न खण्ड, उपखण्ड, अध्यायमा विभाजित छन् भने मुन्दुम/ मुन्धुमलाई व्यवस्थित तरिकाले खण्डीकरण गरिएको छैन । 

# वेदको छोटा मन्त्रलाई ऋचा भनिन्छ भने मुन्दुमको छोटा कैरनलाई रिसिया भनिन्छ ।

# वेदको ऋचा रचना गर्ने र वाचन गर्नेलाई ऋषि भनिन्छ भने रिसिया रच्ने वा वाचन गर्नेलाई नाक्छोङ, माङ्पा, फेदाङमा भनिन्छ ।

# वेद र मुन्दुम/ मुन्धुमबारे अनेकौं स्वदेशी तथा विदेशी विद्वान् विदुषीहरुले खोज अनुसन्धान गरेका छन् परन्तु तुलनात्मक रुपमा वेद विश्वको धेरै भाषामा अनुद्धित वाङमय हुन् । 

✍️: प्राज्ञ डा.भक्त राई 


Jantedhunga
प्रतिक्रिया