सुनसरी । सुनसरीको धरानमा लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । त्यस क्रममा २ सय २५ किलोग्राम गाँजासहित १ जना पक्राउ परेका छन् ।
प्रहरीले बुधबार मध्यरातमा धरान उपमहानगरपालिका–२० चिमफुले खोलामा गोली चलाएको हो । लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनका आधारमा नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त टोली खटिएको थियो । त्यस क्रममा गाँजा बोकेर पैदल नै आउँदै गरेका व्यक्तिहरु भेटिए । प्रहरीले रोकेर चेकजाँच गर्न खोज्दा उनीहरु फरार भए ।
प्रहरीलाई देख्नसाथ विष्णुपादुकाबाट रेल–वेतर्फ आउने जंगलको भित्री बाटोमा गाँजा फालेर उनीहरु फरार भएको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । जंगलतर्फ फरार भएको समूहलाई नियन्त्रणमा लिनका लागि गोली चलाउनु परेको उनको भनाइ छ ।
लागुऔषध गाँजा ओसारपसारमा संलग्न भरियलाई नियन्त्रणमा लिने क्रममा ‘टाइप–५४’ पेस्तोलबाट ३ राउण्ड हवाईफायर गरिएको जानकारी एसपी तिम्सिनाले दिए । उनका अनुसार हवाईफायर गरेर धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ गरिएको हो ।
गाँजा ओसारपसारमा संलग्न अरु फरार रहेकाले खोजी तीव्र पारिएको उनको भनाइ छ । घटनास्थलबाट प्रहरीले ९ बोरा गाँजा बरामद गरेको छ । बोराभित्र २ सय २५ किलाग्राम गाँजा रहेको एसपी तिम्सिनाले बताए ।
‘९ वटा प्लाष्टिकका बोरामा ‘प्याक’ गरिएको २ सय २५ किलो गाँजासहित १ जनालाई पक्राउ गरिएको छ । अरु फरार रहेकाले खोजी जारी राखेका छौं,’ उनले भने । पक्राउ परेका राई लागुऔषध गाँजा ओसारपसार गर्ने भरिया रहेको प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ । राईविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो