विवाह संस्कारको प्रारुप र स्वरुप

Jantedhunga

विवाह संस्कारको प्रारुप र स्वरुप 

डा.भक्त राई 

१. विषय परिचय 

संस्कृति भनेको मानिसले जीविकोपार्जन गर्ने क्रममा परम्परागत रूपमा सिक्दै र भोग्दै आएको जीवनशैली हो । सामान्यतया रीतिरिवाज, परम्परा, वेशभूषा, गीतसङगीत, खानपिन, चाडपर्व, कथागाथा, धर्मकर्म, आस्थाअनुष्ठान आदिलाई मात्र संस्कृतिको रूपमा बुझ्ने गरिन्छ । वास्तवमा भन्ने हो भने कुनै पनि जाति, वर्ग वा समुदायले परापूर्व कालदेखि अनवरत रूपमा अवलम्बन गर्दै आएको, अङगीकार गर्दै आएको समग्र क्रियाकलापको समष्टि रुप नै संस्कृति हो । यो विवेचना संस्कृतिभित्र पर्ने महत्त्वपूर्ण अवयव (अङ्ग) संस्कार र संस्कारभित्रको पनि महत्त्वपूर्ण घटक विवाह संस्कारका बारेमा केन्द्रित छ । यहाँ विवाह के हो, यसको उदभव, विकास र परिवर्तनहरु के-कसरी रुपान्तरण हुँदै आएका छन् । विवाह परम्पराभित्र के-कस्तो विकास र परिवर्तन भइरहेको छ ? विवाह परम्परामा विश्वव्यापीकरणले के-कति प्रभावित बनाएका छन् र ती कति जायज वा नाजायज छन् यी विषयका अनुशीलन गरिएका छन् ।

२. विवाह के हो ? 

विवाह भनेको महिला र पुरुषबिचको स्थायी सम्मिलन हो, जुन मिलन सामाजिक रूपमा, पारिवारिक रूपमा र वैयक्तिक रूपमा समेत सार्वजनिक भएको अवस्था हो । विवाहलाई विश्वभर नै आवश्यक, अनिवार्य र जायज रूपमा लिने गरिन्छ । विवाह पश्चात् मात्र विवाहित जोडीले यौन सम्पर्क गर्न, सन्तान जन्माउन वैधानिकता र सामाजिक अनुमोदन प्राप्त गर्दछ । "विवाह" मानव सृष्टि निर्माण र संचालनको प्रमुख आधार पनि हो । वास्तवमा विवाह सन्तान उत्पादन र सृष्टि निर्माणका आधार मात्र होइन यो एक सामाजिक दायित्वबोध र सामाजिकीकरण पनि हो ।

सन्सारमा भएका अरबौं प्राणीहरुमध्ये विवाह केवल मानवमा मात्र हुने गर्दछ । विवाहबारे संसारमा विभिन्न फरक फरक परम्परा, धारणा र भनाइहरु पाइन्छ । विवाहबारे पूर्वीय संस्कृत वाङमय वेद, पुराण, रामायण, महाभारत आदि ग्रन्थहरुमा विभिन्न प्रकारको विचारहरु व्यक्त भएको पाइन्छन् । ती ग्रन्थहरुमा मुख्य गरेर आठ प्रकारको विवाहको उल्लेख गरेका छन् । ती हुन् -क्रमशः ब्राम्ह विवाह ( दुबै पक्षको सहमतिमा हुने), दैव विवाह ( कन्याको सहमतिमा कुनै तपस्वी वा सन्तमहन्तलाई कन्यादान गर्ने), प्रजापत्य विवाह ( कन्याको अनुमति बिना अविभावकले रोजेर गरिने), आर्ष विवाह ( कन्याको मूल्य तिरेर गरिने), गान्धर्व विवाह ( आफूखुसी लुकेर गरिने) , आसुरीकिरात राई जातिमा प्रचलित विवाह संस्कार सम्बन्धी केन्द्रित छ । विवाह के हो?, यसको प्रारम्भ र विकास कसरी भए र विवाह संस्कारले खास गरेर राई जातिको वैवाहिक परम्पराले के-कस्तो प्रारुप र स्वरुप निर्माण गर्दै आएका छन् जस्ता विषयमा खोज गरिएका छन् विवाह( कन्या पक्षलाई धन वा प्रलोभन देखाएर गरिने) र राक्षसी विवाह ( कन्याको सहमति बिना जबर्जस्ती अपहरण गरेर गरिने) । यसरी हिन्दु शास्त्रहरुमा मुख्य आठ प्रकारको विवाहबारे चर्चा गरेको पाइन्छ। किरात राई जातिमा भने छोपुवा विवाह ( जबरजस्ती अपहरण गरेर गरिने विवाह ), जारी विवाह ( अर्काकी श्रीमतीलाई भगाएर गरिने विवाह ), जाली विवाह ( केटीलाई ललाइफकाई गरेर गरिने विवाह), विधुवा विवाह ( विधुवा महिलाले चलकुटुम्ब केटासङ्ग गरिने भए), मागी विवाह (मगनी गरेर विधिपूर्वक गरिने विवाह), भागी विवाह ( केटा र केटी प्रेम गरेर भागेर गरिने विवाह) गरी लगभग छ प्रकारको विवाह परम्परा पाइन्छ । यसरी नै नेपालका अन्य विभिन्न जातजातिको आआफ्नै परम्परा र पद्धति अनुसारको विवाह परम्परा रहिआएको छ । तर वर्तमान समयमा भने प्रायः परम्परागत विवाह पद्धति लोप भईसकेका छन् । हाल अधिकांश युवायुवतीले प्रेम विवाह गर्ने गर्दछन् ।

प्राचीन समयमा सुरक्षा, अन्य समूह वा समाजसङ्ग अविज्ञता, चेतना आदिको कारण एउटै समूह र परिवारबिच यौन सम्बन्ध र विवाह हुने गरेको देखिन्छ । बिस्तारै एउटै परिवारबिच यौन सम्बन्ध र विवाह नगरी अर्को परिवारका सदस्यसङ्ग मात्र यौन सम्बन्ध र वैवाहिक सम्बन्ध हुन थाल्यो । पछि समाज विकासको क्रममा साइनो, सम्बन्ध, नातागोता, जातजाति, वंश परम्परा,थर, गोत्र, पाछा, सामाई( सामेक) आदि संस्कृति र सभ्यताको विकास हुन थालेपछि मात्र अन्य फरक परिवारका सदस्यसङ्ग, फरक समुदायसङ्ग यौन र वैवाहिक सम्बन्ध हुन थालेको देखिन्छ । यसरी संस्कृति र सभ्यताको विकाससङ्गै यौन र वैवाहिक सम्बन्ध फरक फरक स्थानमा बस्ने मानिसबिच फरक फरक प्रकारको हुन थालेको पाइन्छ । यो क्रम आजको आधुनिक र वैज्ञानिक भनिएको समयमा पनि यथावत् पाइन्छ। नेपालकै सन्दर्भमा भन्ने हो भने कतिपय जातिले मामाचेला फुपूचेलाबिच वैवाहिक सम्बन्ध गाँस्नु वर्जित गरिएको छ भने कतिपय आदिवासी जनजातिहरुमा सामाजिक वैधता छ । यसैगरी हिमाली भेगमा बसोबास गर्ने जातजातिमा बहुपति प्रथा अर्थात् सबै दाजुभाइले एउटै श्रीमती बिहे गर्ने प्रचलन हालसम्म पनि कायम भेटिन्छ भने मुसुलमान समुदायमा भने बहुपत्नी अर्थात् एउटा श्रीमानले धेरैओटी पत्नी ल्याउने प्रचलन अधावधि पाइन्छ । यसरी हेर्दा के देखिन्छ भने नेपाली समाजमा जाति, धर्म, भूगोलको आधारमा विवाह परम्पराको विकास भएको पाइन्छ । यसरी नेपाली समाजमा आआफ्नो जातिगत आधारमा वैवाहिक सम्बन्ध कायम गरिन्छ । तर हिजोआज भने लगभग सबै जातिमा, सबै क्षेत्रमा प्रेम विवाहको प्रचलन बढ्दो देखिन्छ ।

३.अन्तरजातीय विवाह उचित कि अनुचित ?

जबदेखि मानिसले विभिन्न कारण अन्य भूगोल, अन्य जाति र समुदायसङ्ग सम्पर्क, बसउठ र सामाजिकीकरण हुन थाले । त्यसपछि भने नयाँ पुस्ताले आफ्ना जातिका अतिरिक्त अन्य जातिसङ्ग पनि वैवाहिक सम्बन्ध गाँस्न थाले । यसरी नेपाली संस्कृतिमा अन्तर्जातीय विवाह परम्पराको प्रारम्भ हुन पुग्यो । यस प्रकारको अन्तर्जातीय वैवाहिक सम्बन्धलाई पुराना पुस्ताका बुढापाकाले स्वीकार गर्न नमाने पनि पछि बिस्तारै स्विकार्न बाध्य भए । वर्तमान सन्सार एउटा सानो गाउँको रूपमा रुपान्तरण भएको छ । संसारको कुनै पनि कुनाको उत्पादन, वस्तु र जानकारी क्षणभरमा अर्को संसार पुग्दछ । विश्वका आम मानिसहरू संसारभर फैलिएर भ्रमण गर्ने, बसोबास गर्ने प्रचलन बढ्दो छ । नेपालीहरु पनि आज संसारभर फैलिएर बसोबास गर्न थालेका छन् । यसरी विश्वभर छरिएर बस्ने नेपालीहरुले आफ्ना जात, थर, वंश, गोत्र, पाछा, सामाइ( सामेत) हेरेर परम्परित रूपमा विवाह गर्नु सम्भावना रहेन । त्यसैले कतिपय नेपालीहरुले अन्तरजातीय विवाह गर्नु उनीहरुको रहर होइन बाध्यता समेत बनेको छ । अब त अन्तर्जातीय मात्र होइन अन्तर्देशीय विवाह परम्परालाई समेत नेपालीहरुले अङगीकार ( स्विकार) गरिसकेका छन् । कयौं नेपाली चेलीहरु अमेरिकन, युरोपियन, अफृकी, अष्ट्रेलियन नागरिकहरुसङ्ग विवाह गर्न थालेका छन् भने कयौं नेपालीहरुले सन्सारका विभिन्न मुलुकका महिलाहरुलाई विवाह गर्न थालेका छन् । त्यसो त वर्तमान समयमा अन्तर्जातीय, अन्तर्देशीय विवाह, लिभिङ टुगेदर ( यौन चाहना पूरा गर्नका लागि महिला र पुरुष सङ्गै गरिने अस्थायी बसोबास) मात्र होइन समलिङ्गी विवाह समेत हुन थालेका छन् । त्यसैले अब कुनै पनि नेपालीले अन्तर्जातीय विवाहलाई स्विकार्नुको विकल्प छैन । बरु यस प्रकारको विवाहलाई स्वीकार गर्दै हाम्रो नेपाली संस्कृति अनुसार आआफ्नो जाति, वर्ग र समुदाय अनुसार जुनसुकै मुलुकको, जुनसुकै जातको बुहारी भएपनि भित्राएर नेपाली रहनसहनमा आबद्ध गराउनु सक्नु पर्दछ । जुनसुकै जाति र देशका नागरिकसङ्ग विवाह गरेका नेपाली छोरीचेलीहरुलाई आआफ्नो नेपाली संस्कृति अनुसार बिदा गर्ने र बुहारीलाई आफ्नै संस्कृति अनुसार भित्राएर नेपाली संस्कृतिलाई अझ विशाल र समृद्धशाली बनाउन सकिन्छ यो हाम्रो रहर होइन बाध्यता हो । 

३. निष्कर्ष 

धर्म, संस्कृति, परम्परा भनेको हामीले हाम्रै लागि निर्माण गरेका हौं । त्यसैले हाम्रो संस्कृतिलाई जडतापूर्वक राख्नु हुन्न र राख्न सकिन्न पनि । हिजोको हजारौं वर्ष अघिका हाम्रा पुर्खाहरुले निर्माण गरेका संस्कृतिहरु अनुसार वर्तमान समयमा बाँच्न खोज्नु असम्भव मात्र होइन मुर्खता समेत हो । हजारौं वर्षपूर्वका हाम्रा पुर्खाहरुले जेजे खान्थे, जेजे लाउँथे, जेजे बोल्थे, जेजे गर्थे त्यही अनुसार हामीले गर्नु र अबको हजारौं वर्ष पछाडिका हाम्रा भावी सन्ततिहरुलाई हामीले जसरी बाँचेका छौं त्यसरी नै बाँच भन्नु असम्भव मात्र होइन मुर्खता समेत हो । त्यसैले हाम्रा संस्कृति र परम्पराहरुलाई समयानुकूल बनाउदै लान सक्नु पर्दछ । वर्तमान समयका हिन्दु धर्मावलम्बीहरुले वेदले बताए अनुसारको जीवनयापन गर्नु, आजका किरातीहरुले मुन्दुमले भाके अनुसार जीविकोपार्जन गर्नु, बौद्धमार्गीहरुले बुद्धवचनको पूर्ण पालना गर्नु, क्रिश्चियनहरुले र मुस्लिमहरुले बाइबल र कुरानले बतायअनुसार जीवनयापन गर्न सम्भावना छ ? ती धार्मिक ग्रन्थहरु तत्कालीन समय र परिस्थितिलाई मध्यनजर गरेर निर्माण गरिएका हुन् । हिजो बाँचेका हाम्रा पुर्खाहरुले जेजे खाए, जेजे लाय, जेहे देखे, जेजे भोगे त्यही सत्य हो तर तत्कालीन समय र वर्तमान समयमा आकाश पातालको भिन्नता भईसकेको छ त्यसैले विवाह परम्परा मात्र होइन हाम्रा सम्पूर्ण परम्पराहरु परिवर्तन भइसकेका छन् र यो निरन्तर रूपमा परिवर्तन भईरहन्छ । सांस्कृतिक रुपान्तरण र परिवर्तनको धारलाई कसैले रोक्न र छेक्न सक्दैन । त्यसैले त भनिन्छ सन्सारमा एउटै मात्र सत्य छ त्यो हो "परिवर्तन" । आज यति बाँकी अर्को पटक ।

लेखक : प्राज्ञ डा. भक्त राई हुनुहुन्छ ।

Jantedhunga
प्रतिक्रिया