जनताको सेवा संगसंगै टेम्पो चलाउदै जन निर्वाचित वडा सदस्य प्रदिप

Jantedhunga

खोटाङ: २०८०भदौ ९ / हाम्रो देशमा प्रायः जसो जननिर्वाचित प्रतिनिधि वा राजनितिक कर्मीहरुलाई निकै चासोका साथ हेर्ने गरिन्छ । उहाँहरुको निजि जीवन संग पनि सकारात्मक र नकारात्मक दुवै किसिमका सामाजिक अवधारणाहरु जोडिएर आउने गर्छन् । राजनितिक कर्मिहरु जननिर्वाचित प्रतिनिधि भैसकेपछि उहाँहरुमा आउने परिवर्तन खासगरी विलासी जीवनशैलीलाई नजिकै बाट जनताले नियालिरहेका हुन्छन् ।

तर खोटाङको एक स्थानिय तहमा भने त्यस्तो नभएर एक युवा जननिर्वाचित प्रतिनिधि भएपछि सबैको निम्ति उदाहरणको पात्र बन्नु भएको छ । 

गत २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जन्तेढुंगा - ६, दिप्लुङ बाट वडा सदस्यको भूमिकामा निर्वाचित हुनु भएका प्रदीप राई अहिले जनप्रतिनिधिले समेत आफैंले पेसा व्यवसाय गरेर खानु पर्छ भन्ने सकारात्मक संदेश दिंदै प्रदेश १-०२ / ००३ ह ९३२६ नम्बरको तीन पाङ्ग्रे सवारीसाधन (टेम्पो) चलाउनु हुन्छ ।

हामी संगको कुराकानीका क्रममा वडामा आफूले निभाउनु पर्ने भूमिका र पूरा गर्नु पर्ने दायित्व बाट बाँकी रहेको समय यो पेसामा दिने गरेको भन्दै यो काम शुरु गरे संगै जनता संग अझ आफ्नो प्रत्यक्ष सम्पर्क बढ्नुका साथै सबै खाले सुखदुःखमा समेत भेटघाट हुने र सेवा गर्ने अवसर मिलेको उहाँले बताउनु भयो । जनप्रतिनिधि हुने बित्तिकै हलो कोदालो र आफ्नो क्षमता अनुसारको पेसा व्यवसाय छोड्नु पर्छ भन्ने छैन जनताको सेवा संगसंगै निजि जीवनलाई पनि संगै लगे मात्रै राजनिति सफल हुने र समाजमा पनि राजनिति कर्मिहरु प्रतिको भरोसा बढ्ने उहाँको बुझाई रहेको छ ।

उहाँको यो कर्म बाट नेता र जननिर्वाचित प्रतिनिहरू सबै भ्ररष्टाचार मात्रै गर्छन् भन्ने समाजमा परेको नकारात्मक छापलाई समेत यसले चुनौती दिनेमा कुनै दुइमत छैन ।

यसरी नै उहाँको यो सकारात्मक कर्मलाई हेरेर हाम्रो समाजमा हुने राम्रो कामहरुको प्रसंसा गर्नु र नेपाली राजनितिमा रहेको विकृत मानसिकतालाई अन्त्य गर्नु हामी सबै बौद्धिक नेपाली जनहरुको परम कर्तव्य हुनेछ, धन्यवाद ।



Jantedhunga
प्रतिक्रिया