भगवती स्पोर्टस क्लबलाई हराउँदै त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनल प्रवेश

Jantedhunga

१३ बैशाख                                भोजपुर।भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लवले खोटाङ भगवती स्पोर्टस क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा खेल बरावरी भएपछि पेनाल्टी सुट आउटमा त्रिभुवन आर्मीले खोटाङलाई हराएको हो । पेनाल्टीमा आर्मीका तर्फबाट चार गोल भएको थियो भने खोटाङ भगवतीले तीन गोल मात्र गर्न सफल भयो ।  

अन्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको निर्धारित समयसम्म दुवैतर्फबाट गोल हुन नसकेको अवस्थामा अतिरिक्त थपिएको दुई मिनेटको समयमा त्रिभुवन आर्मीका जर्सी नम्वर ३५ का खेलाडी बसन्त जिम्बाले एक गोल गर्दे खाता खोल्न सफल भएका थिए । त्यस्तै दोश्रो हाफमा खोटाङका तर्फबाट छ नम्वर जर्सीका खमिर गिलसानले एक गोल गर्दे खेललाई बरावरी अवस्थामा पुर्याउन सफल भएका थिए । 

पेनाल्टीतर्फ त्रिभुवन आर्मीका लागि जितेन्द्र कार्की, रिपु प्रधान, बसन्त जिम्बा र मानबहादुर आलेले गोल गरेका थिए भने सुरज बस्नेतले गोल गर्न सकेनन । यस्तै खोटाङ भगवतीका तर्फबाट मार्टिन, दिवस उराव, प्रसान्त अवस्थीले गोल गर्न सफल भए भने बिशाल दर्जी र सुदिप श्रेष्ठले गोल हान्न सकेनन । खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका खेलाडी सुरज बस्नेत भएका छन् । उनले नगद पाँच हजार र मेडल पाएका छन् । 

Jantedhunga
प्रतिक्रिया