नेपालमा ऐन कानुन बनाउने गलत तरिका र सांसदहरूको बेवास्ता: महावीर पुन ।

Jantedhunga

नेपालमा ऐन कानुन बनाउने गलत तरिका र सांसदहरुको बेवास्ता: 

शिक्षा ऐनको बिरुद्धमा केहि दिन देखि शिक्षकहरुको देश व्यापी आन्दोलन भैरहेकोछ । त्यो ऐन कसरी बनेको रहेछ भनेर आज बिहान मैले नेपालमा शिक्षा क्षेत्रका अति नै प्रतिष्ठित र विज्ञ ३ जना शिक्षाविदहरु संग टेलिफोनमा कुराकानी गरें ।

सो शिक्षा ऐन बनाउंदा उहाँहरु संग कुनै राय सुझाब लिईएको रहेनछ । देशलाई संचालन गर्न र दिर्घकालिन प्रभाब पर्ने कुनै पनि ऐन कानुन बनाउंदा सो क्षेत्रका बिज्ञहरु र सरोकारवालाहरु संग घनिभूत छलफल नगरिकन बनाइयो भने जनताको हितमा  कानुन बन्दैन । राम्रो कानुन बनेन भने त्यसको बिरोध जनताले पक्कै गर्छन र गर्नु पर्छ ।

ऐन कानुनको मस्यौदा बनाउंदा सो ऐनको विषय प्रवेश, उद्धेश्य, लक्ष्य, उपादयता, समस्याको पहिचान र समाधान जस्ता कुराहरुमा दुरदृष्टि भएका नेताहरु, विज्ञहरु र सरोकारवालाहरुले भनेकै कुरा राख्नु पर्दछ ।  तर नेपालमा त्यसो पटक्कै नहुँदो रहेछ । 

नेपालमा अहिले सम्म बनेका अधिकांश ऐन कानुन कुनै मन्त्रालयका सचिवको नेतृत्वमा त्यहीका कर्मचारीहरुले बनाउंदा रहेछन ।  ति अधिकांस कर्मचारीहरुले विज्ञका कुरा पनि नसुन्दा रहेछन र बन्द कोठामा बसेर ऐनको मस्यौदा बनाउंदा रहेछन । अनि सांसदहरुले त्यसको गहन अध्ययन र समीक्षा नगरिकन संसदमा पास गराउंदा रहेछन । 

यो एकदमै गलत तरिका हो ।  कर्मचारीहरुले ऐन को मस्यौदा बनाउने होइन र त्यो ऐन आफुले सोचेको आइडिया अनुसार मात्र बनाउने होइन । बरु उनीहरुले सम्बंधित सांसदहरु र विज्ञहरुलाई सहयोग मात्र गर्ने हो । कर्मचारीको काम भनेको कुनै काम गर्दा कानुन लाई टेकेर कार्यविधि बनाउने हो । यो कुराको डटेर बिरोध गर्दछु । 

अन्तमा मैले धर्ना आन्दोलन गरेर बनाउने भनेको "अनुसन्धान र नबप्रबर्तन कोष खडा गर्ने र संचालन गर्ने ऐनको मस्यौदाको पनि त्यहि हालत भएको कुरा अवगत गराउंदछु ।

तेस्रो ड्राफ्ट बनाउंदा पनि कुनै गतिलो मस्यौदा बनेको छैन र कर्मचारीहरुले हाम्रा बिज्ञहरुको कुरा सुनेकै छैनन् ।   शिक्षकहरुले गरेको आन्दोलन जस्तै हामीले पनि आन्दोलन गर्न नपरोस । धन्यबाद । 🙏🙏🙏

Jantedhunga
प्रतिक्रिया