ब्यारेक’मै झुन्डिएको अवस्थामा भेटिए प्रहरी अधिकृत

Jantedhunga

विराटनगर । झापामा १ जना जुनियर प्रहरी अधिकृत मृत फेला परेका छन् ।

भद्रपुर नगरपालिका– ८ मा रहेको जिल्ला प्रहरी कार्यालयको ‘ब्यारेक’को माथिल्लो तलामा ४९ वर्षीय प्रहरी नायव निरीक्षक (सई) धनराज खतिवडा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । प्रहरीको ‘ब्यारेक’ ३ तलाको छ ।

पानी ट्यांकीमा जाने फलामको भर्याङमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा सई खतिवडा आज (आइतबार) बिहान मृत फेला परेका हुन् । उनको घर भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ हो । हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्थे ।

इलाका प्रहरी कार्यालय झिलझिले दरबन्दी भएका खतिवडा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत थिए । उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

घटनाका बारेमा परिवारका सदस्य र आफन्तलाई खबर भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

Jantedhunga
प्रतिक्रिया