बुङवाखाको १९ औं वार्षिकोत्सब जन्तेढुंगामा सम्पन्न ।

Jantedhunga

मंसिर २५, खोटाङ ।

खोटाङको जन्तेढुंगा गाउँपालिकामा बान्तावा भाषी किराँत राईहरु संग सम्बन्धित बुङवाखा मासिक पत्रीकाले बान्तावा साहित्य महोत्सव सहित विविध कार्यक्रमका साथ आफ्नो उन्नाइसौं वार्षिकोत्सब सम्पन्न गरेको छ ।

मंसिर २३ र २४ गते गरेर दुईदिने कार्यक्रमको पहिलो दिनको उद्घाटन सत्र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचीव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा गरिएको थियो ।

उद्घाटन सत्रमा प्रमुख अतिथि डा. सुवेदीले सबैको भाषा धर्म र संस्कृति बचे मात्रै मुलुकको अस्तित्व रहने बताएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बान्तावा भाषीहरुको बुङवाखाको वार्षिकोत्सबलाई हाल १ नम्बर प्रदेशमा भैरहेको पहिचानको आन्दोलनलाई थप सशक्त बनाएर लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङले नेपाल बहुजाती, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक देश रहेकोले यहाँको सबै खाले संस्कार र संस्कृतिको संरक्षण हुनु पर्ने बताउदै बुङवाखाको १९ औं वार्षिकोत्सबको सन्दर्भमा आयोजित बान्तावा साहित्यिक महोत्सवको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा भाषिक अभियनता समेत रहेका नायब महालेखा परीक्षक श्रीकुमार पुमा राईले भाषा लोप भएमा जाति पनि लोप हुने बताउदै जन्तेढुंगा गाउँपालिकाले पुमा भाषाको पठनपाठन संचालन गरिरहेकोमा खुसी व्यक्त गरेका छन् । 

त्यस्तै उद्घाटन सत्रमा हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम राई, खोटेहाङ गाउँपालिका अध्यक्ष उद्धिम राई, प्राज्ञ त्रैलोक्यमान बनेपाली र जन्तेढुंगा-५ का वडा अध्यक्ष धनबहादुर राई लगायतले शुभकामना व्यक्त गरेका थिए । जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको उक्त महोत्सवमा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले धन्यवाद व्यक्त गरेका थिए ।

किराँत राई बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराँतीले बान्तावा खिमको अहिलेको अवस्था र निर्माणाधीन भवनको बारेका कार्य पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बान्तावा भाषी स्रष्टा लोक प्रिय गायिका लीला राईले बान्तावा भाषाका गीतहरु मार्फत सांगीतिक मनोरञ्जन प्रस्तुत गरेकी थिइन् । त्यस्तै बान्तावा भाषामै कलाकार सुखदेव राई लगायत स्थानीय कलाकारहरुले पनि सांगीतिक मनोरंजन दिलाएका थिए ।

वार्षिकोत्सबको अवसरमा आयोजित बान्तवा साहित्य महोत्सवमा १९ जनाले कविता प्रतियोगितामा सहभागिता जनाएका थिए, त्यस तर्फ रामबहादुर राई इटहरी प्रथम, ज्ञानबहादुर राई पाँचथर द्वितीय र शोभा राई सिक्किम नाम्जी तेस्रो भएका छन् । क्रमशः उनिहरुले रु. २००००, १५००० र १०००० नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै धनुष काँढ (भे तालेत) प्रतियोगिता प्रती दीर्घमान राई जन्तेढुंगा प्रथम, प्रवेश निरौला रावाबेसी दोस्रो र गान्दिप राई जन्तेढुंगा तेस्रो भएका छन्, उनिहरुलाई मायाको चिनो स्वरुप किराँत राजा यलमबरको मूर्ति र प्रमाणपत्र प्रदान गरिएको थियो । भने बिनायो प्रतियोगिता (दोङ दोङमा) मा भाग लिएका सबैलाई एकमुष्ट संमान गरिएको थियो ।

कार्यक्रममा जन्तेढुंगा गाउँपालिका ५ वाचिपालाका ९९ वर्षीय डम्बर सिंह सुप्तिहाङ राईलाई विशेष संमान गरिएको छ, सुप्तिहाङले हाल १२ कक्षा सम्म सञ्चालित चिसापानी माविमा औपचारिक स्थापना हुनु पूर्व देखि लामो समय निशुल्क स्वयंसेवक शिक्षकको रुपमा रहि काम गरेको भन्दै आयोजकले संमान गरेको सम्पादक पदम बान्तावाले बताएका छन् ।

त्यस्तै कार्यक्रममा बुङवाखा रनमाया चेन्चेकवा पुरस्कार नारदमणि राई जन्तेढुंगा रु. १००००, धिनेन्द्र बादिहाङ स्मृति पुरस्कार बाट चन्द्रकुमार खालिङ राई रु.१००००, बुङवाखा पन्चकुमारी संगीत पुरस्कार बाट दधिराम राई रु. ४००००, बुङवाखा युके सायाचोङमा पुरस्कार बाट चन्द्र कुमारी राई रु.५००००, बुङवाखा विष्णु-मकर बान्तावा राष्ट्रिय पुरस्कार बाट निराजन राई रु. ६०२९१ बाट सम्मानित भएका छन् ।

कार्यक्रममा बान्तावा किराँत मुन्धुमी धामी बिजुवा (दोवा) र शिक्षकशिक्षिकालाई समेत संमान गरिएको थियो ।

 यस वर्ष जन्तेढुंगामा १९ औं वार्षिकोत्सब र बान्तावा साहित्यिक महोत्सव सम्पन्न गरेको बुङवाखाले आगामी २० औं वार्षिकोत्सब र बान्तावा साहित्यिक महोत्सव अध्यक्ष प्रेम राईको हार्दिक निमन्त्रणालाई स्विकार्दै भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा गरिने घोषणा सहित कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट समेत सहभागिता रहेको महोत्सव उद्घाटन सत्रको अध्यक्षता बान्तावा खिम जन्तेढुंगाका अध्यक्ष कुमार राईले गरेका थिए भने स्वागत मन्तव्य बुङवाखाका सम्पादक पदम बान्तावा र कार्यक्रमको संचालन रीता राराहाङले गरेकी थिइन् ।

 




Jantedhunga
प्रतिक्रिया