गण्डकी प्रदेश सरकारका सबै मन्त्री फेरिए

Jantedhunga

काठमाण्डौ । गण्डकी प्रदेश सरकारका सबै मन्त्री फेरिएका छन्। सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सबै पुराना मन्त्रीहरूलाई हटाएर नयाँ टोली पठाएका हुन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज सबै आठ मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न सिफारिस गर्नुभएको थियो। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूले आज दिउँसो नेपाल पर्यटन बोर्डको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख भट्टबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता खगराज अधिकारीबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपछि यो नयाँ नियुक्ति भएको हो।

नवनियुक्त मन्त्रीहरूमध्ये नेपाली कांग्रेसबाट चार जनाले जिम्मेवारी पाएका छन्। जितबहादुर शेरचनलाई आर्थिक मामिला मन्त्रालय र नन्दप्रसाद न्यौपानेलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको कार्यभार सुम्पिएको छ। त्यसै गरी रेखा गुरुङले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र नम्डु गुरुङले वन तथा वातावरण मन्त्रालय सम्हाल्ने गरी नियुक्त भएका छन्।

त्यस्तै नेकपा एमालेको तर्फबाट पनि चार जना मन्त्री सरकारमा सहभागी भएका छन्। गोविन्द बहादुर नेपालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र यशोदा रिमाललाई उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसका साथै भिमबहादुर कार्कीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र लक्ष्मणबहादुर पाण्डेले स्वास्थ्य मन्त्रालयको कार्यभार पाएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयका अनुसार नयाँ मन्त्रीहरूको चयनसँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ।

Jantedhunga
प्रतिक्रिया