वैशाख ९, नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस, केवल उत्सव मनाउने दिन मात्र होइन, आत्मसमीक्षा गर्ने ऐतिहासिक अवसर पनि हो। यस्तो बेला उत्सव वा औपचारिकता मात्रैले स्थापना दिवसको औचित्य र सान्दर्भिकता पूरा हुदैन ।हालै सम्पन्न निर्वाचनमा कम्युनिस्ट शक्तिहरूले भोगेको पराजयको गम्भीर र निर्मम समिक्षा हुनुपर्छ । इतिहासको गौरव सम्झिने दिनले वर्तमानको यथार्थसँग संवाद गर्नुपर्छ, किनकि आन्दोलनको शक्ति केवल विगतमा होइन, आफ्ना कमजोरी सच्याउने क्षमतामा पनि निहित हुन्छ।
नेपालको कम्युनिस्ट आन्दोलनले लामो संघर्ष, बलिदान र वैचारिक प्रतिबद्धतामार्फत यहाँसम्मको यात्रा तय गरेको हो। सामन्तवादविरुद्ध संघर्ष, लोकतन्त्र स्थापनाको आन्दोलन, संविधान निर्माण र राज्यको रूपान्तरणमा कम्युनिस्ट शक्तिहरूको योगदान ऐतिहासिक छ। तर यही आन्दोलन आज किन जनमतमा कमजोर देखियो? हालैका निर्वाचन परिणामले यही गम्भीर प्रश्न उठाएको छ।
निर्वाचनमा देखिएको पराजय केवल सिटको गणितीय हार होइन, यो जनविश्वासमा आएको क्षयको संकेत पनि हो। जब जनताले लामो समय भरोसा गरेका शक्तिप्रति सन्देह व्यक्त गर्छन्, त्यसलाई केवल प्रतिकूल परिस्थिति भनेर टार्न सकिँदैन। यसको जरो वैचारिक विचलन, संगठनात्मक शिथिलता, सत्ता–केन्द्रित राजनीति, गुटबन्दी, अवसरवाद र जनताका अपेक्षासँग बढ्दो दूरीमा खोज्नुपर्छ।
कम्युनिस्ट आन्दोलनको मूल शक्ति विचार, संगठन र जनसम्बन्ध हो। तर पछिल्ला वर्षहरूमा विचारभन्दा व्यक्तिको प्रभाव, संगठनभन्दा समीकरण, र जनताका मुद्दाभन्दा सत्ताको गणित प्राथमिकतामा परेको आरोप बलियो बनेको छ। यही कारण जनतामा निराशा बढ्यो र वैकल्पिक राजनीतिक धार, स्वतन्त्र उम्मेदवार वा लोकप्रियतावादी प्रवृत्तिले स्थान पाउने वातावरण बन्यो।
अझ आजको डिजिटल युगमा अल्गोरिदमले निर्माण गरेको क्षणिक लोकप्रियता, सामाजिक सञ्जालबाट फैलिएको अराजकतावादी विमर्श र अवसरवादी राजनीतिक शैलीले परम्परागत दलहरूलाई चुनौती दिएको छ। तर यो चुनौतीको उत्तर निराशा होइन, वैचारिक पुनर्जागरण हो। जनताको बहुदलीय जनवाद जस्ता समृद्ध विचार, लोकतान्त्रिक अभ्यास र जनआधारित राजनीतिको पुनःस्थापना नै यसको उत्तर हो।
पराजयलाई पराजयकै रूपमा स्वीकारेर त्यसबाट शिक्षा लिन सक्ने राजनीतिक संस्कार नै परिपक्व आन्दोलनको चिन्ह हो। इतिहासमा कम्युनिस्ट आन्दोलन कठिन मोडहरूबाट बारम्बार पुनर्जीवित भएको छ। विभाजन, दमन र संकटका बीच पनि यसले आफूलाई पुनर्गठन गरेको छ। आजको आवश्यकता पनि त्यही हो । हारलाई अन्त्य होइन, सुधारको अवसरका रूपमा बुझ्नुपर्छ ।
७७औँ स्थापना दिवसको सन्देश पनि यही हुनुपर्छ संस्थापकहरूको आदर्श केवल श्रद्धाञ्जलीमा सीमित नरहोस्, वर्तमान संकट समाधानको प्रेरणा बनोस्। पुष्पलालहरूले देखाएको राजनीतिक इमान, वैचारिक निष्ठा र जनपक्षधरता आज पुनः स्थापित/ गर्नुपर्छ हुनुपर्छ।
यदि कम्युनिस्ट आन्दोलनले पराजयको सन्देश बुझेर आत्मसमीक्षा, आत्मसुधार र जनतासँग पुनः सम्बन्ध सुदृढ गर्न सक्छ भने यो हार इतिहासको मोड बन्न सक्छ। अन्यथा, गौरवपूर्ण इतिहास केवल स्मृतिमा सीमित हुने खतरा रहन्छ।
वैशाख ९ को सन्दर्भमा वर्तमान परिस्थितिको गम्भीर समीक्षा, इतिहाससँगै आत्मबोध, र पराजयबाट पुनर्जागरणको संकल्प लिएर अगाडि बढनु नै नेपालको कम्युनिस्ट आन्दोलनका लागि आजको सबैभन्दा ठूलो राजनीतिक आवश्यकता हो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो