काठमाडौं, असोज ५ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा मोबाइल फोन प्रयोगमा कडाइ गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले बैठक हलभित्र मोबाइल नचलाउन, नबजाउन तथा भिडियो–अडियो रेकर्ड नगर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्। भोलिदेखि भने बैठकमा सहभागी हुने सदस्यको मोबाइल हल बाहिरै राख्ने व्यवस्था गरिने भएको छ।
ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा सुरु भएको बैठकमा ओलीले बैठकको मर्यादा र अनुशासन कायम राख्न मोबाइल प्रयोगमा रोक लगाइएको बताएका हुन्।
उनले बैठकमा नेता तथा सदस्यहरूले धारणा राखिरहेका बेला मोबाइलमा कुराकानी नगर्न तथा मोबाइलबाट भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने वा लाइभ गर्न नपाइने स्पष्ट पारे।
‘मोबाइल रेकर्ड मोडमा राख्न पाइने छैन। भिडियो मोडमा राख्न पाइने छैन। लाइभ गर्न पनि पाइँदैन,’ ओलीले भने, ‘लाइभ गर्नेजति क्यामेराहरूले गर्नेछन्।’
ओलीले बैठकका क्रममा आफ्नो आसन छाड्नुपरे अध्यक्षको अनुमति लिनुपर्ने नियमसमेत सुनाएका छन्। बैठकमा बोल्न चाहने सदस्यले अध्यक्षको ध्यानाकर्षण गराएर अनुमति लिएपछि मात्रै बोल्नुपर्ने व्यवस्था गरिएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक हो। बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै छन्।
बैठकमा निर्वाचन परिणामको समीक्षा, पार्टी पुनर्निर्माण, बदलिँदो राजनीतिक परिस्थिति तथा आगामी राजनीतिक कार्यदिशालगायत विषयमा छलफल हुने बताइएको छ। बैठक तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो