दिक्तेलमा दसैँतिहार लक्षित बजार अनुगमन : अधिकांश पसलमा म्याद गुज्रेका सामाग्री भेटिए

Jantedhunga

खोटाङ, असोज ५ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा बजार अनुगमन तीव्र पारिएको छ। संयुक्त अनुगमन टोलीले दिक्तेलका विभिन्न क्षेत्रमा रहेका ६६ वटा होलसेल तथा किराना पसलको निरीक्षण गरेको हो।

अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका खाद्य सामग्री तथा पेय पदार्थ बरामद गरी आवश्यक प्रक्रिया पूरा गरेर नष्ट गरिएको छ। म्याद सकिएका पेय पदार्थ खाल्डोमा पुरी नष्ट गरिएको थियो भने अन्य दैनिक उपभोग्य सामग्री जिल्ला प्रशासन कार्यालयको परिसरमा जम्मा गरी आगो लगाएर नष्ट गरिएको जनाइएको छ।

अनुगमन टोलीले अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणीचोक, त्रिवेणीचोक–हाटडाँडा र हाटडाँडा–अस्पतालचोक क्षेत्रका पसलमा अनुगमन गरेको हो।

घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीका अनुसार यसअघि पनि पटकपटक बजार अनुगमन गरी म्याद गुज्रेका वस्तु बिक्री नगर्न व्यवसायीलाई सचेत गराइएको थियो। तर, पछिल्लो अनुगमनमा समेत म्याद नाघेका सामग्री भेटिनुले व्यवसायीको लापरवाही कायमै रहेको देखिएको उनले बताए।

उनले बजार क्षेत्रमा नै म्याद गुज्रेका खाद्य वस्तु भेटिनुले ग्रामीण क्षेत्रमा पठाइने सामानको अवस्थाबारे समेत प्रश्न उठेको बताए। जिल्लाका सबै क्षेत्रमा तत्काल पुग्न सम्भव नभए सम्बन्धित स्थानीय तहलाई समेत बजार अनुगमन गर्न आग्रह गरिने उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको निर्देशनपछि पछिल्लो अनुगमन गरिएको हो। भदौ २५ गते खोटाङमा प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हालेका गुरुङसमक्ष सञ्चारकर्मीले बजारमा म्याद गुज्रेका सामग्री बिक्री भइरहेको विषयमा ध्यानाकर्षण गराएका थिए।

प्रजिअ गुरुङले उपभोक्तालाई पनि खाद्यवस्तु तथा पेय पदार्थ खरिद गर्दा उत्पादन र उपभोग गर्न मिल्ने अन्तिम मिति अनिवार्य जाँच गर्न आग्रह गरेका छन्। म्याद गुज्रेको सामग्री बिक्री गरेको भेटिए पहिलो चरणमा सचेत गराइने र दोहोरिए कानुनी कारबाही गरिने उनले बताए।

खोटाङमा १० स्थानीय तह छन्। ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्री बिक्रीका लागि लैजाँदा मूल्य, गुणस्तर र म्यादबारे पर्याप्त जाँच नहुने गुनासोसमेत छ। केपिलासगढी गाउँपालिका–१ फेदीका स्थानीय लक्ष्मण साम्पाङले गाउँमा बिक्रीका लागि ल्याइएका चामललगायत सामग्रीको म्याद गुज्रिएको भेटिए पनि सम्बन्धित निकायबाट अपेक्षित निगरानी नभएको गुनासो गरेका छन्।

प्रशासनले भने चाडपर्वको समयमा बजारमा उपभोक्ताको चाप बढ्ने भएकाले अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

Jantedhunga
प्रतिक्रिया