कोशी प्रदेश सरकार बिस्तार हुँदै : खोटाङका भुपेन्द्र राई मन्त्री बन्ने पक्का

Jantedhunga

विराटनगर । कोसी प्रदेश सरकारले ढिलोमा आइतबार सम्ममा पूर्णता पाउने भएको छ । नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेसलाई पाँच मन्त्रालय दिन सहमति भएसँगै सरकारले पूर्णता पाउने भएको हो ।

फुटाएर मन्त्रालयको संख्या बढाउनुभन्दा कांग्रेसलाई एउटा मन्त्रालय थप्न मुख्यमन्त्री कार्की सहमत भएका हुन् । 

कांग्रेसमा संस्थापनइतर समूहले मन्त्रीको नाम नपठाउँदा सरकार विस्तारमा अवरोध सिर्जना भएको थियो ।

शेखर कोइराला समूहले आकांक्षी धेरै भएकाले मन्त्रालय फुटाएर भएपनि आफूहरुलाई दुई मन्त्रालय चाहिने अडान लिएपछि कांग्रेसले मन्त्रीको नाम फाइनल गर्न सकेको थिएन । कांग्रेसले संस्थापनबाट प्रदीप सुनुवार र हिमाल कार्कीलाई मन्त्री बनाउन तयार पारेको छ भने सिटौला समूहबाट भूपेन्द्र राईको नाम सिफारिस भएको छ ।

शेखर समूहमा परेको दुईवटा मन्त्रालय अहिलेसम्म ३ जनाको नाम आइरहेको छ । मानबहदुर जबेगु, इन्दिरा थापा र रामकुमार खत्रीको नाम मन्त्री हुने लिस्टमा छ । खत्री र थापा यसअघि पनि मन्त्री बनिसके पनि महिला कोटाबाट थापा र जबेगु मन्त्री बन्ने सम्भावना बलियो रहेको समाचारस्रोतले बतायो ।

कांग्रेसले नाम फाइनल गरेर पठाउने वित्तिकै मन्त्रिपरिषद् विस्तार गर्न मुख्यमन्त्री हिक्मत कार्की तयारी अवस्थामा रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को  कार्यालयले जनाएको छ ।

सम्भवतः शेखर समूहले पार्टी सभापति शेरबहादुर देउवालाई मन्त्रीको नाम सिफारिस गर्ने वित्तिकै कोसी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मन्त्रालय तोकेरै मन्त्री बन्नेको नाम टिपाउने भएका छन् ।

Jantedhunga
प्रतिक्रिया