काठमाडौं, असार १५— आज देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ दिवस मनाइए पनि पर्याप्त वर्षा नहुँदा अधिकांश क्षेत्रमा धान रोपाइँ अपेक्षित रूपमा अघि बढ्न सकेको छैन।
कृषि क्षेत्रका अधिकारीहरूका अनुसार मनसुन सक्रिय हुन ढिलाइ भएकाले विशेषगरी तराईका जिल्लामा रोपाइँ प्रभावित भएको छ। कृषि विभागको पछिल्लो विवरणअनुसार असार १२ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ११.३३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा कम हो।
प्रदेशगत तथ्याङ्क हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत रोपाइँ भएको छ। त्यसपछि लुम्बिनीमा २०.९ प्रतिशत, गण्डकीमा १२.७ प्रतिशत, बागमतीमा १२.६ प्रतिशत, सुदूरपश्चिममा ९.३ प्रतिशत, कोशीमा ८.३ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम ५ प्रतिशत रोपाइँ भएको तथ्याङ्कले देखाएको छ।
कृषि विज्ञहरूका अनुसार पहाडी क्षेत्रमा केही स्थानमा वर्षा भएपछि रोपाइँ सुरु भए पनि तराईका अधिकांश क्षेत्रमा पानीको अभावका कारण किसानले खेत तयार गर्न सकेका छैनन्। समयमै पर्याप्त वर्षा नभए उत्पादनमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
यसैबीच, धान उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य अझै चुनौतीपूर्ण देखिएको छ। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले झन्डै ३८ अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको भन्सार तथ्याङ्कले देखाएको छ। धानको आयात केही घटे पनि चामलको आयात भने बढ्दो क्रममा रहेको छ।
नेपालमा वार्षिक आवश्यक धानको परिमाण र स्वदेशी उत्पादनबीच अझै ठूलो अन्तर रहेकाले प्रत्येक वर्ष उल्लेख्य मात्रामा धान तथा चामल विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। उत्पादन वृद्धि, आधुनिक खेती प्रणालीको विस्तार र जलवायु अनुकूल प्रविधिको प्रयोगमार्फत धानमा आत्मनिर्भरता हासिल गर्नुपर्ने आवश्यकता कृषि क्षेत्रका सरोकारवालाले औँल्याएका छन्।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो