काठमाडौं। किरात राई यायोक्खाको ३९औँ स्थापना दिवसको अवसरमा पुमा राई समुदायबाट पहिलो पटक विद्यावारिधि (Ph.D.) हासिल गर्न सफल डा. विष्णु पुमा राई सम्मानित भएका छन्।
ललितपुरस्थित सिङ्गापुर गोर्खा पेन्सन एसोसिएसनको हलमा शुक्रबार आयोजित विशेष समारोहमा डा. राईलाई यायोक्खाले सम्मान गरेको हो।
खोटाङको जन्तेढुंगा गाउँपालिका–१, देविस्थान रिलाका डा. राईले ‘पुमा राई भाषा र नेपाली भाषाको व्याकरणिक कोटिको तुलनात्मक अध्ययन’ शीर्षकमा शोधपत्र प्रस्तुत गर्दै विद्यावारिधि हासिल गरेका हुन्।
भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै यायोक्खाले डा. राईलाई किराँती मौलिक परम्पराअनुसार ढोल र झ्याम्टाको मंगल धुनसहित शिरमा फेटा–पगरी गुथाएर ताम्रपत्र प्रदान गर्दै सम्मान गरेको थियो।
कार्यक्रममा सांसदहरू निश्चल राई, आरेन राई, पूर्व पर्यटनमन्त्री सुदन किराँती तथा आदिवासी जनजाति आयोगका सदस्य शरण राईलगायतले डा. राईलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
स्थापना दिवसकै अवसरमा राई समुदाय तथा राज्यका विभिन्न तहमा महत्वपूर्ण योगदान पुर्याएका अन्य व्यक्तित्वहरूलाई समेत ताम्रपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो।
यायोक्खाका उपाध्यक्ष तिलक राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम महासचिव भीम राईले सञ्चालन गरेका थिए। यायोक्खाका अध्यक्ष जीवन हाताच्योको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
पुमा राई समुदायबाट पहिलो विद्यावारिधि हासिल गरेका डा. विष्णु पुमा राईको सम्मानलाई भाषा, संस्कृति र पहिचानको क्षेत्रमा नयाँ पुस्ताका लागि प्रेरणादायी उपलब्धिका रूपमा लिइएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो