विश्व शान्ति तथा मानव एकताका लागि बृहत धार्मिकसभा

Jantedhunga

राजभक्त योङ्या " मिधुङ"

विश्व आज विज्ञान र प्रविधिको उत्कर्षमा पुगेको छ । मानिस चन्द्रमासम्म पुगेको धेरै भयो, अहिले कृत्रिम बुद्धिमत्ताले मानव जीवनलाई नयाँ मोड दिएको छ । तर यति धेरै प्रगति हुँदाहुँदै पनि मानव समाज अशान्त, असुरक्षित र विभाजित बन्दै गएको यथार्थ हाम्रो सामु छ ।                              युद्ध, धार्मिक द्वन्द्व, जातीय घृणा, सांस्कृतिक विघटन, नैतिक पतन र मानवतामाथिको संकटले विश्वलाई चिन्तित बनाएको छ । यस्तो अवस्थामा विश्व शान्ति र मानव एकताको सन्देश बोकेका धर्महरूबीच संयुक्त संवाद र सहकार्य अपरिहार्य बनेको छ । नेपालजस्तो बहुधार्मिक, बहुसांस्कृतिक,बहुभाषिक र सहिष्णुताको भूमि भएको देशमा किराँत, हिन्दु र बौद्ध धर्मको संयुक्त बृहत धार्मिकसभा समयको आवश्यकता हो ।

नेपाल केवल हिमाल, पहाड र तराईको देश मात्र होइन; यो पूर्वीय दर्शन, अध्यात्म र मानव सभ्यताको संगमस्थल पनि हो । यहाँ हिन्दु धर्मले सनातन जीवनदर्शन, बौद्ध धर्मले करुणा र अहिंसाको मार्ग तथा किराँत धर्मले प्रकृतिप्रेम, सत्य र मानव एकताको सन्देश दिँदै आएको छ । यी तीनै धर्मका मूल शिक्षामा मानवता, सहिष्णुता, सत्य, दया र सहअस्तित्वका साझा मूल्य पाइन्छन् । त्यसैले संयुक्त धार्मिकसभा कुनै धार्मिक प्रतिस्पर्धा होइन; साझा सभ्यता र मानव कल्याणका लागि एकताको अभियान हो ।

आज विश्वमा धार्मिक नाममा हिंसा र विभाजन बढिरहेको छ । धर्म मानिसलाई जोड्ने शक्ति हुनु पर्नेमा कतिपय स्थानमा फुट र घृणाको माध्यम बनिरहेको छ । नेपालमा पनि सामाजिक सञ्जाल र राजनीतिक स्वार्थका कारण धार्मिक तथा जातीय असहिष्णुता फैलाउने प्रयास भइरहेका छन् । यस्तो अवस्थामा किराँत, हिन्दु र बौद्ध धर्मका गुरु, विद्वान, साधु-सन्त र धार्मिक अभियन्ताहरू एउटै मञ्चमा उभिएर “धर्मको मूल उद्देश्य मानव कल्याण हो” भन्ने सन्देश दिन आवश्यक छ । संयुक्त धार्मिकसभाले समाजमा सद्भाव, सहअस्तित्व र आपसी सम्मानको वातावरण निर्माण गर्न ठूलो भूमिका खेल्न सक्छ ।

विशेषगरी नेपाली समाजमा मौलिक धर्म, संस्कृति र परम्पराप्रति नयाँ पुस्ताको आकर्षक घट्दै गएको छ भने  पश्चिमी प्रभाव र उपभोक्तावादी संस्कृतिले युवापुस्तामा आध्यात्मिक चेतना कमजोर बन्दै गएको छ । यसले  परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारीभन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदै गएको अवस्था छ । यस्तो बेला बृहत धार्मिकसभाले युवा पुस्तालाई  नैतिक शिक्षा, आध्यात्मिक चेतना र सांस्कृतिक पहिचानबारे जागरण गराउन सक्छ । धर्मसभा केवल पूजा वा प्रवचनको कार्यक्रम नभई मानव सभ्यता बचाउने वैचारिक अभियान पनि हो र हुनुपर्छ  ।

किराँत धर्मका महागुरु महागुरु फाल्गुनन्द लिङ्देन ले “सत्य धर्म मुचुल्का” मार्फत समाज सुधार, मानव एकता, हिंसा अन्त्य र नैतिक अनुशासनको सन्देश दिएका थिए । त्यसैगरी गौतम बुद्ध ले करुणा, अहिंसा र विश्वशान्तिको मार्ग देखाए भने हिन्दु दर्शनले “वसुधैव कुटुम्बकम्” अर्थात् संसार एक परिवार हो भन्ने सार्वभौम मान्यता स्थापित गरेको छ । यी शिक्षाहरू आजको विश्व संकट समाधानका आधार बन्न सक्छन् । त्यसैले संयुक्त धार्मिकसभा केवल नेपालको मात्र होइन, विश्व मानवताकै लागी आवश्यकता हो ।

नेपालले विश्वलाई शान्ति र सहिष्णुताको सन्देश दिन सक्ने अद्वितीय सम्भावना बोकेको छ । बुद्धको जन्मभूमि, ऋषिमुनिहरूको तपोभूमि र किराँत सभ्यताको ऐतिहासिक भूमि भएको नेपालले धार्मिक एकताको नमूना प्रस्तुत गर्न सक्छ । यदि किराँत, हिन्दु र बौद्ध धर्मका अगुवाहरूले संयुक्त रूपमा विश्व शान्ति तथा मानव एकताको घोषणापत्र जारी गर्दै मानवता, प्रकृति संरक्षण, नैतिकता र सहअस्तित्वका पक्षमा अभियान चलाउने हो भने त्यसले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै सकारात्मक प्रभाव पार्न सक्छ । यसले नेपाललाई विश्व सामु चिनाउनका साथै नेपाल लाई त्रि- धार्मिक शान्ति भूमिका रूपमा विकास गर्न सकिन्छ ।

आज आवश्यकता धर्मको नाममा विभाजन गर्ने होइन, धर्मको मर्मबाट मानवता बचाउने हो । संयुक्त धार्मिकसभाले यही चेतना जगाउन सक्छ । विश्व शान्ति केवल राजनीतिक सम्झौताबाट सम्भव हुँदैन; त्यसका लागि मानिसको मन बदलिनुपर्छ । मन परिवर्तनको शक्ति धर्म र अध्यात्मसँग हुन्छ । त्यसैले विश्व शान्ति तथा मानव एकताका लागि किराँत, हिन्दु र बौद्ध धर्मको संयुक्त बृहत धार्मिकसभा आजको  अपरिहार्य आवश्यकता बनेको छ ।

Jantedhunga
प्रतिक्रिया