राजभक्त योङ्या " मिधुङ" माङसेबुङ,इलाम । नेपालका १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन द्वारा प्रारम्भ गरिएको समाज सुधार अभियानको स्मरणमा हरेक वर्ष बैशाख २४ गते “समाज सुधार दिवस” मनाइन्छ। यो दिवस केवल एक ऐतिहासिक घटना सम्झने अवसर मात्र नभई सामाजिक रूपान्तरण, सांस्कृतिक शुद्धीकरण र मानवतावादी जीवनदर्शनको पुनःस्मरण गर्ने महत्वपूर्ण क्षण हो।
वि.सं. १९८८ साल बैशाख २४ गते पाँचथरको फिदिमस्थित सिलौटी (लव्रेकुटी) मा १० लिम्बुवान र १७ थुमका अगुवाहरूको ऐतिहासिक भेलाबाट जारी गरिएको “सत्यधर्म मुचुल्का” नेपाली समाज सुधारको एक क्रान्तिकारी दस्तावेज मानिन्छ। त्यस समय किराँत समुदायमा व्याप्त मद्यपान, पशुबलि, अन्धविश्वास, सामाजिक असमानता र आर्थिक शोषण जस्ता समस्यालाई सम्बोधन गर्दै फाल्गुनन्दले १० बुँदे सुधार अभियान अघि सारेका थिए।
वि.सं. १९४२ कार्तिक २५ गते इलाम जिल्लाको साविक इभाङ–५ (हाल माङसेबुङ–२) मा जन्मिएका फाल्गुनन्दको बाल्यनाम नरध्वज लिङ्देन थियो। बाल्यकालमा गम्भीर बिरामी परेपछि जनविश्वास अनुसार फलामका चुरा लगाइएपछि “फलामसिं” र पछि आध्यात्मिक साधनाबाट “फाल्गुनन्द” नामले परिचित भए।
१६ वर्षको उमेरमा बर्मामा ब्रिटिश सेनामा भर्ती भएका उनले युद्धका विभत्स दृश्य देखेपछि हिंसा मानवताको शत्रु भएको निष्कर्ष निकाल्दै सैनिक जीवन त्यागे। त्यसपछि उनी शान्ति, सत्य र अहिंसाको मार्गमा समर्पित भएका थिए ।
सत्यधर्म मुचुल्काले केवल धार्मिक सुधार मात्र होइन, सामाजिक न्याय र नैतिक अनुशासनको मार्गदर्शन पनि प्रदान गर्यो। यसका मुख्य उद्देश्यहरू यस्ता थिए—
मद्यपान तथा मांसाहार नियन्त्रण
पशुबलि अन्त्य
छोरी–चेलीमाथिको आर्थिक शोषण (सोत–रीत) अन्त्य
नारी सम्मान र समान अधिकार
सरल र मर्यादित संस्कार (जन्म, विवाह, मृत्यु)
सत्य, अहिंसा र नैतिक जीवन
यस अभियानले किराँत समाजमा गहिरो परिवर्तन ल्यायो। विशेषगरी विवाहमा “मोल तोक्ने” प्रथा घट्दै गयो, मदिरा सेवन नियन्त्रण भयो र धार्मिक संस्कारहरू सरल तथा मानवतावादी बन्न थाले।
महागुरु फाल्गुनन्दले किराँत धर्मको मौलिकता जोगाउँदै त्यसलाई आधुनिक सन्दर्भमा रूपान्तरण गर्ने प्रयास गरे। उनले कुम्भकर्ण हिमाल क्षेत्रलाई पवित्र तीर्थस्थलका रूपमा स्थापित गर्न योगदान दिएका थिए। साथै, भारत, भुटान र नेपालका विभिन्न स्थानमा भ्रमण गर्दै किराँत धर्मको प्रचार–प्रसार गरेका थिए।उनको अभियानले धार्मिक पर्यटनको अवधारणा समेत अघि सारेको देखिन्छ, जुन आजको सन्दर्भमा अझै महत्वपूर्ण छ।
सामाजिक सुधारका क्रममा उनले तत्कालीन सत्ताबाट “देशद्रोही” को आरोपसमेत खेप्नुपरेको थियो। तर समयसँगै उनको योगदानको मूल्याङ्कन भयो। नेपाल सरकारले वि.सं. २०६६ मंसिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गर्यो। साथै, उनको सम्मानमा हुलाक टिकट प्रकाशन, पाठ्यक्रममा जीवनी समावेश, फाल्गुनन्द गाउँपालिका नामकरण तथा “फाल्गुनन्द राजमार्ग” जस्ता पहलहरू गरिएका छन्।
महागुरुको विचार र दर्शन आज पनि उत्तिकै सान्दर्भिक छन्। उनका उपदेशहरू सरल तर गहिरा छन्।
“पापले घटाउँछ, धर्मले बढाउँछ”
“बोलेन भने झगडा हुँदैन”
“हजारौं तारा भन्दा एउटा जून नै पर्याप्त हुन्छ”
यी भनाइहरू केवल धार्मिक शिक्षा होइनन्, व्यवहारिक जीवनका मार्गदर्शक सिद्धान्त हुन्। उनले तडक–भडक, अन्धविश्वास र आर्थिक अपव्ययको विरोध गर्दै सरल, संयमित र नैतिक जीवनशैलीको वकालत गरे।
महागिरु फाल्गुनन्दको दर्शन केवल किराँत समुदायमा सीमित छैन। उनले मानवता, समानता, अहिंसा र सहअस्तित्वको सन्देश दिएका छन्। आजको विश्व, जहाँ हिंसा, द्वन्द्व र सांस्कृतिक विखण्डन बढिरहेको छ, त्यहाँ उनका विचारहरू अझै सान्दर्भिक देखिन्छन्।
अत : समाज सुधार दिवस केवल एक स्मृति दिवस मात्रै होइन, यो आत्ममूल्यांकनको अवसर पनि हो। महागुरु फाल्गुनन्द लिङ्देनले सुरु गरेको अभियानले देखाएको बाटो आज पनि समाजलाई सही दिशातर्फ डोर्याउन सक्षम छ।
महागुरुको सत्यधर्म मुचुल्का केवल ऐतिहासिक दस्तावेज मात्रै होइन, यो सामाजिक न्याय, सांस्कृतिक शुद्धता र मानवतावादी सभ्यताको मार्गचित्र हो। यदि हामीले उनका विचारलाई व्यवहारमा उतारेर विश्व शान्ति तथा मानव एकताको अभियान सफल र सार्थक बनाउन सक्यौं त्यो नै महागुरु प्रति सच्चा श्रद्धाञ्जली हुनेछ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो