धनकुटा–हिले सडकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

Jantedhunga

धनकुटा, असार २ गते ।धनकुटा–हिले सडकखण्ड अन्तर्गत धनकुटा नगरपालिका–४ च्यानेमा मंगलबार बिहान दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान करिब ७ः१५ बजे धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल तीव्र गतिका साथै ओभरटेक गर्ने क्रममा एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका रामधुनी नगरपालिका–९ झुम्का घर भई हाल धनकुटा नगरपालिका–७ मा बसोबास गर्दै आएका ५५ वर्षीय विशाल चौधरीको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरी धनकुटामा फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका थिए।

यस्तै दुर्घटनामा घाइते भएका धनकुटा नगरपालिका–१ हिलेका स्याम तामाङलाई जिल्ला अस्पताल धनकुटामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। तामाङ जिल्ला अस्पताल धनकुटाको डायलाइसिस वार्डमा कार्यरत कर्मचारी रहेको जनाइएको छ।

दुर्घटनापछि धनकुटास्थित श्री भीमदल गणको टोली पीटी दौडका क्रममा घटनास्थलमा पुगेर दुवै घाइतेको तत्काल उद्धार गरी अस्पताल पुर्‍याएको थियो।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया